काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दैै अयोध्याधामको गुरुयोजना बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री ओलीको बोलावटमा बालुवाटार आएका चितवन माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग उहाँले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको ठोकुवा नै गर्नुभएको थियो ।
जनप्रतिनिधिहरुलाई रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएकोमा लामो ब्याख्या सुनाउँदै ओलीले भन्नुभयो, ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस् । त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुस् ।’विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले त्यहाँ उत्खनन् गर्ने भन्दा शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने बताएको माडीका मेयर ठाकुरप्रसाद ढकालले सञ्चारमाध्यमलाई बताए ।प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नामै परिवर्तन गरेर अयोध्यापुरी राख्न पनि सुझाउनु भएको छ ।











































