गृह पृष्ठ अन्तर्वार्ता इन्टरनेटबाट पढाउन सकिँदैन : महाशिला अध्यक्ष पौडेल (अन्तर्वार्ता)

इन्टरनेटबाट पढाउन सकिँदैन : महाशिला अध्यक्ष पौडेल (अन्तर्वार्ता)

पर्वत, १५ असोज- कोभिड–१९ जोखिमका कारण चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण बन्द भएका शैक्षिक संस्थाहरु अझै पनि बन्द अवस्थामा छन् । शैक्षिक सत्र नै गुम्ने तथा शैक्षिक क्षति हुने भएकोले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाई सहजीकरण जारी ग¥यो । निर्देशिकामा विद्यार्थीहरुलाई शिक्षकसँग जोड्न विभिन्न विकल्पहरू दिइएका छन्, जुन ठाउँ र परिवेश अनुसार प्रयोग गर्न सकिन्छ ।
निर्देशिकामा राखिएको एउटा विकल्प र अहिले बढी चर्चामा रहेको अनलाइनको माध्यमबाट सञ्चालन गरिने सिकाई कार्यक्रमहरू हुन् । इन्टरनेटको सुविधा भएको ठाउँमा यसले धेरै हिसाबले फाइदा दिने भए पनि इन्टरनेट नै नभएको ठाउँमा के होला ? अनि अहिलेको अवस्थामा स्थानीय तहले कसरी शैक्षिक क्षतिलाई कम गर्न सक्छन् ? यही विषयमा पर्वतको विकट मानिएको र इन्टरनेटको सुविधा नरहेको महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलसँग संजय रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

कोरोनालाई जितेर घर आएका व्यक्तिसंग बालबालिकाहरू डराउने हुन सक्छ । यो अवस्थामा उनीहरूलाई मनोवैज्ञानिक असर पर्न नदिन के गर्नुभएको छ ?
– निको भएर आउनुभएकाहरु गाउँमै हुनुहुन्छ । हामी जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायत बुझेका अभिभावकहरुले त्यसरी त्रासमा पर्न नदिन सुरुवाती अवस्थाबाटै बालबालिकालाई ज्ञान दिँदै आएका छौँ । निको भएर आएकाहरूमा संक्रमण रहँदैन, उहाँहरू गाउँमा हुँदा केही फरक पर्दैन भनेर भनिरहेका छौँ । त्यसमा पनि पर्वतका संक्रमित कोहीमा पनि लक्षण नदेखिएका कारण उहाँहरूलाई कोरोना भाइरसले त्यति धेरै प्रभाव पार्न सकेन । यही कारण उहाँहरूमा सामान्य भाइरस मात्र देखिएको अरू केही होइन भनेर बालबालिकालाई बुझाउन खोजिरहेका छौँ । तर नजिक नै जानुपर्छ छुनै पर्छ भन्ने अर्थ होइन । किनकि जितेपछि पनि फेरि संक्रमण रहेको त हामीले सुनेकै छौँ । अर्को कुरा हाम्रो पालिकाका १३ जनामा संक्रमण देखिएको हो, यो संख्या ठुलो होइन । निको भएपनि उहाँहरूले अझै पनि सावधानी अपनाइरहनुभएको छ ।

तपाईँको स्थानीय तहमा सरकारले निकालेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका अनुरूप कामहरू भएका छन् ?
– सरकारले त्यो निर्देशिका नल्याउँदैबाट नै निर्देशिकामा भनिए अनुसारका सिकाई क्रियाकलापहरू हामीहरूले सञ्चलन गरिरहेका थियौँ । वडाध्यक्ष ज्यूहरूले आ–आफ्ना वडामा निगरानी गर्नुभएको थियो । लकडाउनलगत्तै विद्यालय बन्द भएकोमा पछि हामीले यही अवस्थाले शिक्षा तहसनहस हुन्छ भनेर रोल नं. अनुसार विद्यार्थीलाई विद्यालयमा बोलाएर सामाजिक दूरी कायम गर्दै कक्षा सञ्चालन गरेका थियौँ । तर पछि त्यो पनि खतरा हुने भयो भन्ने कुरा जिल्लाभर भए पनि हामीले हटायौँ । विस्तारै फेरि पायक परेका शिक्षकहरूलाई पायक परेको टोलमा जाने बनायौँ । अहिले पनि हामीले टोल शिक्षालाई नै अगाडि बढाइरहेका छौँ ।

यसको अर्थ महाशिलामा निर्देशिकाको कार्यान्वयन पूर्ण रूपमा भएको छ भन्ने हो ?
– निर्देशिकामा दिइएका विकल्पहरूलाई स्थानीय अवस्था अनुसार प्रयोगमा ल्याउने हो । पूर्वमा मिल्ने कुरा पश्चिममा मिल्दैन, उत्तरको कुरा दक्षिणमा मिल्दैन । हाम्रो पालिकामा उपलब्ध साधन र स्रोतको प्रयोग गर्दै हामीले सकेसम्म विद्यार्थीलाई क्षति हुन नदीनका लागि काम गरिरहेका छौँ । विद्यार्थीहरूको अभिलेखीकरण गर्ने भनिएको छ, ती कामहरू पूरा भइसकेका छन् । विद्यार्थीको हात–हातमा पाठ्यपुस्तकहरू पुगिसकेका छन् । यो ठाउँमा जे सम्भव छ ती कामहरू गर्नलाई त हामीले कुनै कसर बाँकी राख्ने कुरै भएन ।

टोल टोलमा शिक्षक जाँदा पनि त संक्रमणको जोखिम हुन्छ ? विद्यार्थीलाई रेडियो र टिभीमा आउने कार्यक्रम सुन्न लगाउनुभएन ?
– अब यो महाशिला यस्तो अनौठाको ठाउँ छ कुरै नगरौँ । रेडियो टिप्दैन भनौँ पर्वत, बागलुङदेखि पाल्पासम्मका रेडियो सुनिन्छन् । सुनिन्छ भनौँ भने एउटै रेडियोले बोलेको कुरा पनि स्पष्ट आउँदैन । फरक फरक जिल्लाका फ्रिक्वेन्सी जुधेकोले यहाँ समस्या छ । यो गाउँ अलिकति विकट नै हो । सबैका घरमा टेलिभिजनको पहुँच छैन । हुनेखानेले टिभीबाट पढे पनि जसका घरमा टिभी छैन, उसले कसरी पढ्ने ? यही कारण नै हामीले टोलमा पुगेर पढाउने विकल्पको प्रयोग गरिरहेका हौँ ।

इन्टरनेटका माध्यमबाट भर्चुअल कक्षाहरू चलाउने देशैभरीको ट्रेन्ड छ । यसलाई पनि पन्छाउँदै टोलमा पुग्नैमा जोड दिनुभयो है तपाईँहरूले ?
– जुन ठाउँमा गतिलोसँग रेडियो त सुन्न पाइएको छैन, त्यो ठाउँमा इन्टरनेटको पहुँच त कठिन कुरा भइहाल्यो नि । सदरमुकामबाट टाढा रहेको यो ठाउँमा बजारमा वा बजार नजिकका गाउँमा जस्तो सुविधा त हुने कुरै भएन नि । यहाँका नागरिकहरू सामान्य मोबाइल सेट किन्न त नसक्ने अवस्थामा छन्, उनीहरूले कसरी नेट जोडुन ? अनलाइन क्लासको कुरा रेडियो सुन्ने कुरा कठिन विषय हो । यहाँ बाहिरका शिक्षकहरू हुनुहुन्न । अहिलेका अवस्थामा शिक्षक टोलमा जाँदा नै प्रभावकारी छ नि त । शिक्षकलाई देखेपछि विद्यार्थी पनि सचेत हुन्छन्, उनीहरूको अवस्थाका बारेमा अभिभावकहरूसँग पनि बुझ्न पाइन्छ । यहाँका अभिभावकहरूले पनि यही कुरालाई नै राम्रो मान्नुभएको छ । तर टोल शिक्षामा जाँदा शिक्षक र विद्यार्थी सबैले सामाजिक दूरी कायम भएको हुन्छ । टोलमा शिक्षक गएजस्तो नेटबाट हुँदैन, हुने भए पनि हाम्रो उपलब्ध छैन त कसो गर्ने ?

तपाईँको स्थानीय तहमा कृषि र युवा स्वरोजगारका लागि धेरै काम भएका कुराहरू आइरहेका छन् । तर शिक्षा सम्बन्धी यो काम भयो भन्ने बाहिर आएका छैनन् नि ?
– होइन, होइन अन्य पक्षमा जस्तै शिक्षामा पनि हामीले धेरै कामहरू गरिरहेका छौँ । शिक्षाक्षेत्र हाम्रो महत्वको क्षेत्र हो । मैले च्यालेन्जका साथ भन्छु की राष्ट्रले १ देखि ५ कक्षासम्म दिवा खाजा कार्यक्रम भनेर सम्बोधन गरेको हो, त्योभन्दा पहिले नै हामीले नर्सरीबाट ३ कक्षासम्म आफ्नै स्रोतबाट खाजा खुवाएका थियौँ । तीन वर्ष अगाडिबाट सबै विद्यालयहरू जंकफुड निषेधित भएका छन् । कक्षा ३ सम्म हरेक विद्यालयका हरेक विषय अंग्र्रेजी माध्यममा पढाइ भइरहेको छ । एक शिक्षक एक ल्यापटप एक कक्षा एक प्रोजेक्टर कार्यक्रममार्फत हामीले प्रविधिको माध्यबाट पढाइ भइरहेको छ । मावि तह सबैमा प्रोजेक्टर पढाउन लगाउने यो हाम्रो राम्रो कार्यक्रम होइन ? अहिले पनि शिक्षकहरूमा प्रविधिको दक्षता बढाउन विभिन्न कार्यक्रमहरू चलिरहेका छन् । पालिकाको लगानीको महत्वपूर्ण पाटो शिक्षा क्षेत्र हो ।

अन्त्यमा, कोरोनाको मौकामा शिक्षकहरूले बसेर तलब खाए भन्ने आरोप छ । फेरि स्थानीय तहले स्पष्ट कार्ययोजनासहित कुनै निर्देशन दिन सकेनन् भन्ने आरोप शिक्षकले स्थानीय तहलाई लगाएका छन् नि ?
– शिक्षकहरू भनेका विज्ञ मान्छे हुन् । विज्ञले यो गर्न सकिन्छ भनेर स्पष्ट कुराहरू लिएर आएको खोइ ? हामीले शिक्षकहरू टोलमा गएर शिक्षा दिने भनेर त भन्यौँ, तर शिक्षकहरूले यसको उपलब्धि यति भयो भनेर लिएर आएको खोइ ? मलाई लाग्छ कुनै पनि स्थानीय तहहरूले यसो गरौँ भनेर कोही आएमा त्यसमा बाधा गरेका छैनन् । सरकारी मान्छेले तलब मात्रै खाएर बसेर त भएन नि । शिक्षक भनेको त संसार बदल्ने मान्छे हो । तलब खाने तर घरको काम यताउति गरेर बस्न त भएन नि । स्थानीय तह मात्रै तातेर शैक्षिक क्षति कम हुँदैन । यसमा लाग्ने भनेकै शिक्षक हो । के गरेमा शैक्षिक क्षति हुँदैन भन्ने कुरा शिक्षकहरूलाई थाहा छ, उहाँहरूले यसो गरौँ भनेर खाका सहित आउनुभएको खोइ ? शिक्षकहरूको विज्ञता यही आपतको बेलामा प्रयोग हुनु आवश्यक छ । होला जनप्रतिनिधिका तर्फबाट गल्ती भएका छन् भने पनि शिक्षकहरूले यसो गर्दा यसो हुन्छ भनेर बताइदिनुपर्छ । स्थानीय तहले पहिले नै कोरोना भोगेर आएका हुन र ? पहिलेको अनुभवले अहिले योजना बनाउन ? यो बेलामा जसले जे जानेको त्यो भन्नुपर्छ, गर्नुपर्छ ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...