बागलुङ-बागलुङ कुश्मीशेरा सडकखण्डअन्र्तगत गलुवामा पहिरोले क्षति पूर्याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका जनप्रतिनिधिहरुको समुहले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रदेशसभा सदस्य ईन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल र एमाले बागलुङका नेता कृष्ण पाठक ध्यानाकर्षण पत्र बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।
गलुवामा गत असार १ गतेको भीषण पहिरोले क्षति पुगेको सडक नगरपालिकाको स्रोतले मात्रै मर्मत गर्न नसकिने अबस्था भएपछि सडक मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराईएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । असार १ गतेबाट बन्द भएको सडक लामो समय बन्द भएर अस्थायी रुपमा चलेको छ । बर्षा याममा सडकहुँदै पहिरो निरन्तर बगेपछि रोकथाम पहिलो आवश्यकता रहेको प्राबिधिक समुहको ठम्याई थियो ।
‘हिउँदमा काम चलाउन नगरपालिकाले २० लाख खर्चेर अस्थायी सडक बनाएको छ, बर्षाको समयमा यो टिक्दैन,’ पौडेलले भने, ‘यो प्रदेशले विकास गरिरहेकै सडक भएकाले पनि तत्काल योजना बनाएर मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं ।’
पहिरो नियन्त्रण र सडक मर्मतका लागि बागलुङ नगरपालिकाका इञ्जिनियरहरुले ३ करोड ४३ लाख ६४ हजार रुपैयाँको स्टमेट तयार गरेका छन् । बागलुङ कुश्मीशेरा सडकको तीन ठाउँमा पहिरोले ठुलो क्षति पु¥याएको छ ।
कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको वैकल्पिक सडकमा पहिरोले क्षति पु¥याएको छ । ‘अघिल्लो वर्षामा दक्षिणको सडक ठप्प भयो, यो बर्खा सुरु हुनुपूर्व काम गर्नुपर्ने छ,’ पौडेलले भने, ‘तत्काल काम नथाले समयमा काम सकिन्न र सडक रोकिन्छ ।’
ध्यानाकर्षपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले मागप्रति सकरात्मक रहेको प्रतिक्रिया दिए । योजना बनाएर काम थाल्ने आश्वासन दिएका मुख्यमन्त्री पोखरेलले जनताको समस्यामा प्रदेश सरकार साथमा रहेको बताए । प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म सडक मर्मत र पहिरो रोकथामको काम तत्काल थाल्ने उनको भनाई थियो ।










































