काठमाडौं –स्थानीय तहको चुनावको मुखमा घरजग्गा कारोबार केही सुस्ताएको छ । गत फागुन महिनाको तुलनामा चैतमा कारोबार र यसबाट उठ्ने राजस्व दुवै सुस्ताएको हो । चैत २०७७ सँग तुलना गर्ने हो भने पनि चैत २०७८ मा जग्गाको कारोबार घटेको देखिन्छ ।
बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव भएकाले यो वर्ष घरजग्गाको कारोबार तीव्र दरमा उचालिएको छैन । तर, बैंकमा तरलता अभाव भएपनि अहिले भइरहेको कारोबारले घरजग्गामा हुने लगानी ठूलो दरमा निरुत्साहन भएको देखिंदैन ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत २०७८ मा ७० हजार ८२९ वटा घरजग्गा कारोबार (लिखत पास) भएका छन् । चैत महिनामा सबैभन्दा धेरै जग्गाको कारोबार सुनसरीको इनरुवा क्षत्रेमा भएको छ । इनरुवाको मालपोत कार्यालयले एक महिनामा ३ हजार ५२३ वटा लिखत पास भएका छन् । चैत २०७७ मा ८७ हजार १८७ वटा घरजग्गाको लिखत पास भएको थियो ।
चैतमा मोरङको बेलबारी क्षेत्रमा २ हजार ८२४, झापाको भद्रपुर क्षेत्रमा २ हजार ७६८, धनुषाको जनकपुर क्षेत्रमा २ हजार ३७६ र बाँके क्षेत्रमा २ हजार ४४९ वटा लिखत पास भएका छन् । चैतमा काठमाडौं उपत्याकाभित्र काठमाडौंपछि सबैभन्दा धेरै ललितपुर क्षेत्रमा पनि २ हजार ९६ वटा लिखत पास भएको छ । काठमाडौंमा विभिन्न कार्यलय गरेर करिब ३५ सय जग्गाको कारोबार भएको छ ।