पोखरा- स्वदेशमा मात्र नभै विदेशमा पनि चासो र चर्चा कमाएको पोखराको प्रमुख आकर्षण भनेको पर्यटन नै हो । पर्यटन यहाँको प्रमुख व्यवसायका रुपमा स्थापित बनिसकेको छ । पर्यटनलाई लक्षित गरी पोखरामा ठूलो लगानी भैसकेको छ ।कोरोना कहरका कारण सिथिल अवस्थामा पुगेको पर्यटनको विकल्प केवल पर्यटन नै हो भन्ने आत्मविश्वासका कारण ठूलै मारमा परेका यहाँका व्यवसायी आशा र विश्वासका साथ पर्यटनमा निरन्तर लागेका छन् । यस अघि सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर तत्कालीन समयमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरे । गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेश भ्रमण वर्ष जस्ता कार्यक्रमले पनि लगानी बढ्दै गएका अवस्थामा दुई वर्षयता देखिएको कोरोना कहरले भने यहाँका पर्यटन व्यवसायी नराम्रोसँग मारमा परेका छन् । कोरोनाले कतिपयलाई व्यवसाय नै परिवर्तन गर्नेतर्फ पनि सोच्न बाध्य बनायो ।
पछिल्ला समयमा भने अधिकांशले कोरोना विरुद्धको खोप लगाइसकेका अवस्थाका साथै पछिल्ला समयमा देखिएको पर्यटकहरूको आगमले पर्यटन व्यवसाय पुनः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा गरिएको होटेल एसियाका सञ्चालक धर्मराज पन्थीले बताए । ‘आगामी दिनमा पर्यटन व्यवसाय पुनः फस्टाउने कुरामा हामी आशावादी छौं’,उनले भने,‘ यस बीचमा छिमेकी मुलुक भारत र देशकै विभिन्न स्थानबाट आएका पर्यटकका कारण यहाँको सम्भावना अझै छ भन्ने आत्मविश्वास जगाएको छ ।’
पोखरा दृश्यावलोकनसँगै साहसिक पर्यटनको पनि गन्तव्य हो । यहाँ सञ्चालन हुने गरेका प्याराग्लाइडिङ, बञ्जि जम्प, जीपलाइन आदिले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ । पोखराको आकाशमा फेवातालमाथि हावामा कावा खाँदै भरपुर मनोरञ्जन लिइने प्याराग्लाइडिङ होस् या यहाँ वरपर सञ्चालन भएका बञ्जि जम्प, जीपलाईन, स्वीङ आदिले पर्यटकलाई निकै आकर्षित गर्ने गरेको छ ।
पछिल्लो समयमा विदेशी पर्यटकमात्र नभै आन्तरिक पर्यटक पनि शाहसिक पर्यटनका गतिविधिमा आकर्षित बन्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । पछिल्लो समयमा वर्षात सुरु हुनु अघि प्याराग्लाइडिङमा देखिएको आकर्षणले आफूहरू उत्साहित बनेको उनले बताए । पोखरा महानगरपालिका–१८ स्थित सराङकोटको डाँडाबाट उडान भरेर फेवाताल किनारमा अवतरण गरिने प्याराग्लाइडिङमा युवादेखि वयस्कसम्मको रुची रहने गरेको छ । पछिल्ला वर्षमा प्याराग्लाइडिङ मनोरञ्जनको साधनसँगै खेलकूद विधाको रुपमा स्थापित भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङलाई समावेश गर्ने गरिएको छ । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेका छन् भने ३५० हाराहारीमा नेपाली पाइलट छन् । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन हुनका लागि सराङकोटबाट गर्दै आइएको प्यारग्लाइडिङ सानुपर्ने कुराले भने आँफूहरू चिन्तित बनेको उनको भनाइ छ । ‘पोखरामा शाहसिक पर्यटनको आकर्षणका रुपमा रहेको प्याग्लाइडिङबारे राम्रोसँग सोच्नु जरुरी छ’,उनले भने ।
पोखरामा पर्यटक लक्षित होटेल तथा पूर्वाधारसँगै सुविधासम्पन्न सवारी साधन पनि रहेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई आवतजावत गराउने सुविधा सम्पन्न सवारी साधन थपिने क्रम पनि त्यही अनुरुप बढेको नेपाल पर्यटन यातायात व्यवसायी सघं गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजङ्ग गुरुङको भनाइ छ । उनका अनुसार पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु ३५ लाखका कारदेखि सुविधा सम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । स्वदेशी या विदेशी पर्यटकहरू पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्न सुविधासम्पन्न सवारीसाधन प्रयोग गर्ने गरेका छन् । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घसँग हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारी साधन आबद्ध छन् । कोरोना कहरले लामो समयसम्म थन्कनुपरेका पर्यटक यातायात पछिल्ला समयमा भने काम पाउन अवस्था बनेको छ । गत चैत यता झण्डै साढे दुई महिनासम्म पोखरामा भारतीय पर्यटकको राम्रो आगमन भएको होटल एलेगेन्ट, गौरीघाट लेकसाइडका सञ्चालक समेत रहेका गुरुङले बताए ।
‘भारतीय पर्यटकको आगमले पोखराको पर्यटनमा सकारात्मक संकेत दिएको छ’, गुरुङले भन्नुभयो, ‘आगामी सेप्टेम्बर पछि पोखरामा विदेशी पर्यटकहरूको पर्यटकको राम्रो आगमन हुने आशा एवम् विश्वास जगाएको छ ।’पोखरामा नेपाली नयाँ वर्षका अवसरमा पनि आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिएको थियो । पोखरामा पर्यटकको आकर्षणलाई कायमै राख्ने गरी यहाँका पर्यटन सम्बद्ध संस्थाले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिदै आएका छन् । सबै मौषममा पोखरा भन्ने नारालाई चरितार्थ पार्न पोखरा पर्यटन परिषद्ले वर्षेनी असार १५ गते गर्दै आएको असारो रोपाइँ महोत्सव सम्पन्न हालै सम्पन्न भएको छ ।
एक साता अघिसम्म छिमेकी मूलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोरोनाका कारण लामो समयसम्म सुनसान बनेका यहाँका होटेलमा भारतीय पर्यटकको आगमनले क्षमताको झण्डै ५० प्रतिशत होटेल भरिभराउ भएको पर्यटन व्यवसायीहरु बताउँछन् । सुवेदीका अनुसार पोखरामा होटेलमा मात्रै करिब पौने चार खर्ब बराबरको लगानी भइसकेको छ । पोखरामा पर्यटकस्तरीय होटेलको सङ्ख्या एक हजार २०० को सङ्ख्यामा रहेको बताउँदै सुवेदीले लेकसाइड र ड्यासाइड क्षेत्रमा मात्रै ७०० को सङ्ख्यामा होटेलहरू रहेका छन् । पोखरामा पाँच तारे दुई वटा होटेल सहित अन्य तारे होटेलको सङ्ख्या १८ वटा रहेका छन् ।
पर्यटन व्यवसायीका अनुसार यस पटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटकहरू पोखरा आएका छन् । पोखरा आएका भारतीय पर्यटकहरू यहाँको दृश्यावलोकनसँगै कतिपय मुक्तिनाथसम्म पुगेर फर्कने गरेको व्यवसायीले बताए । सन् १९६० देखि हिप्पी पर्यटकको आगमनबाट सुरु भएको पोखराको पर्यटनमा पछिल्ला वर्षमा पूर्वाधार थपिने क्रम बढरहेको यहाँका व्यवसायी बताउँछन् । पूर्वाधार विकासकै क्रममा पछिल्ला समयमा पुम्दीकोटमा बनेको विशाल महादेव मूर्तिसहितका संरचना आदिले यहाँका गन्तव्यस्थलमा समेत बृद्धि भएको छ । पछिल्ला समयमा पोखराको सेदी–राङकोट केबुलकारसहित विभिन्न पूर्वाधारमा ठूलै लगानी भएको छ










































