बागलुङ/ज्याला मजदुरीले मात्रै घर चलेन् । परिवारको खर्च चलाउनकै लागि विदेश जाने निधो गर्दा कान्छा छोरा भर्खरै तोते बोल्ने भएका थिए । सन् २००२ को एक साँझ हरि बहादुर (नाम परिवर्तन)ले घर छोड्ने निधो गरे । बागलुङको दुर्गम गाउँबाट झोला बोकेर विदेशिने तयारीसहित निस्किएका उनको यात्रा मलेसियाका लागि तय भयो ।
न त चिनेका, न जानेका एक जना वैदेशिक रोजगार एजेन्टमार्फत उनी मलेसिया पुगे । मलेसियाको जंगलको एक कम्पनीमा काम दिईयो । सामान्य पारिश्रमिकले उनको उतैको खर्च चलेन् । घरखर्च पठाउन नसकेपछि उनी उतै हराए । काम गर्न सकुन्जेल त ठिकै थियो । जब काम गर्न कठिन हुन थाल्यो तब सुरु भए उनका अझै कठिन र दुःखान्त दिनहरु ।
परिवारले घर छोडेको केही दिन देखिनै खोजी गरेकै थियो । न फोन सम्पर्क, न चिठ्ठी पत्र, न मान्छे नै फर्किने । उनी हिंड्ने बेला तोते बोल्ने बालक छोरा तन्नेरी भयो । परिवारसँग झिनो आशा बाहेक केही थिएन् । संयोग मलेसिया पुगेको २३ वर्षपछि उनी घर फर्किए ।
सुरक्षित आप्रबासन कार्यक्रमले विदेशमा अफ्ठेरोमा परेकाहरुको उद्दार गरेका समाचार आईरहन्थे । परिवारले यस्ता सूचना नियालिरहेको थियो । एक दिन सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो । एक नेपाली कलाकारले मलेशियाको ग्रामीण क्षेत्रमा अत्यन्तै दयनीय अवस्थामा जीवन बिताइरहेको भन्दै अर्का एक नेपालीको भिडियो पोस्ट गरेका थिए ।
भिडियोमा देखिएको अनुहार समयले धेरै बद्लिसकेको थियो, तर त्यो अनुहार उनकै थियो । त्यो भिडियो आप्रवासी स्रोत केन्द्रसम्म पुग्यो । त्यसपछि सुरु भयो खोजी र उद्धारको काम । गाउँकै मनोसामाजिक परामर्शदाताको पहलमा विषयलाई अगाडि बढाइयो ।
आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन, कन्सुलर सेवा विभाग, प्रवासी नेपाली समन्वय समिति, नेपाल दूतावास तथा त्यहाँका नेपाली समाजको समन्वयमा उद्धार प्रक्रिया अघि बढ्यो । त्यतिबेला परिवारले पहिलो पटक सुन्न पायो – ‘उनी जीवित छन् ।’ यो खबर सुन्नासाथ उनकी श्रीमतीका आँखाबाट आँसु झरे, परिवारमा उत्साहको सिमा रहेन् ।
विदेशमा बस्नेहरुले पनि यस्ता सूचनाको ख्याल गर्ने र आफ्ठेरोमा परेकाको सूचना सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेका छन् । २३ वर्षपछि घर फर्किंदा उनी र उनको परिवारमा जति उत्साह र खुसीयाली छ, उत्तिकै कष्टकर थिए बितेका २३ वर्ष ।
१८ वर्ष पहिला बहराईन पुगेर काम गर्दागर्दै दुर्घटना परेका सन्देश (नाम परिवर्तन)को कहालीलाग्दो कथा पनि उस्तै छ । एक दिन, दुई दिन हैन कैयौं वर्ष अस्पतालको बेडमा बेहोसीमा बिताएका दिन सम्झनै कठिन हुनेछन् । रोजगारीका लागि बहराईन सजिलो थिएन् ।
कठिन बाटोबाट त्यहाँ पुग्दा काम त पाईयो । एक दुई वर्ष राम्रो कमाई पनि थियो । त्यसपछि एकाएक परिवारसँग सम्पर्क टुट्यो । काममा जाँदै गर्दा सन्देश सडक दुर्घटनामा परे । बहराईनकै अस्पताल पु¥याईयो । बेहोस अवस्थामा अस्पताल पुगेका उनको होस आएन् । काम गर्ने कम्पनीले सक्ने जति खोजी गर्यो । न आफ्नो कोही, न केही बोल्न र गर्न केही सक्ने ।
कठिन अवस्थामा अस्पतालको बेडमा छट्पटाईरहेका उनको राजदुतावासमार्फत घर ठेगाना पत्ता लगाउने काम भयो । सुरक्षित आप्रवासन कार्यक्रमले बाँकी सबै प्रक्रिया थालेपछि उनलाई अस्पतालबाटै नेपाल ल्याईयो । भयो यतीसम्मकी बहराईनको अस्पतालका चिकित्सक उनलाई लिएर नेपालसम्म आए, नेपालको ट्रमा सेन्टरका चिकित्सकले जिम्मा लिएपछि उनी फर्किए । अहिले उनलाई उपचारपछि बागलुङको गाउँ ल्याईएको छ । वर्षौं बेहोसी रहेका उनको अहिले होस् आएको छ, सामान्य कुराकानी गर्नसक्ने भएका छन् ।
पर्वतको जलजला गाउँपालिकाबाट खाडी मुलुक साउदी अरेविया पुगेका अर्का एक युवाको दुखद कथा पनि कहालीलाग्दो छ । साउनी अरेविया पुगेको केही वर्षमा नै आफ्नै केटा साथीबाटै यौन शोसणमा परे । पटक पटक उनीमाथि शोषण भयो । घर फर्किन खोजे वा कसैसँग बताएमात्रै बन्दी बनाउने र ज्यान लिने धम्की दिईयो । शौचालयमा बसेर साथीमार्फत नेपाल पठाएको सन्देशका आधारमा उनको उद्धार भयो ।
वैदेशिक रोजगारीमा देखिएका यस्ता घटना प्रतिनिधि घटना मात्रै हुन् । विदेशको यात्रा प्रारम्भ गर्दा देखिनै ठगी, शोषणका घटनाक्रम गन्तव्य मुलुक र घर फर्किएपछि हुने गरेका अनेकौं प्रकृतिका घटना छन् । ‘कहिलेकाहीँ त लाग्छ सामान्य जीवन चलाउन हाम्रा दाजुभाईले यती धेरै कष्ट सहनुभएको छ’ सुरक्षित आप्रबासन कार्यक्रम बागलुङका जिल्ला संयोजक मिन प्रसाद उपाध्यायले भने, ‘सकभर देशमा नै जीवन चलाउने प्रयास गर्दा धेरै राम्रो ।’
गैरकानूनी बाटो वैदेशिक रोजगारीमा जानेहरु यस्तै समस्यामा परिरहेका छन् । कतिपयको मृत्यु समेत भएको छ । अधिकांशले भिजिट भिसामा विदेशको यात्रा गरेका छन् भने वैधानिक रुपमा गएका अप्ठ्यारोमा परेका छन् । वैधानिक रुपमा गएकाहरुले भने ढिला भए पनि राहत, क्षतिपुर्ति र बिमा रकम पाउने गरेका छन् ।
आप्रबासी स्रोत केन्द्र बागलुङका परामर्शदाता गंगा रिजालका अनुसार, गैरकानूनी रुपमा गएकाहरुको भने राहत र बिमा दुवैको सुविधा नहुँदा समस्या हुने गरेको छ ।
गत वर्ष मात्रै पर्यटक भिसामा ओमान गएकी एक महिला घरेलु कामदारको रुपमा बस्दा हिंसामा परेर धेरै दुःख पाइन् । उनले सहारा नपाएपछि बागलुङस्थित आप्रवासी स्रोत केन्द्रले नै उद्धार गरेको थियो । पर्यटक भिसामा गएकोले उनले काम गरेको पैसा पाउन सकिनन् । पीडकलाई कारवाही गर्ने अवसर पनि मिलेन । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन केन्द्र सफल भयो । तर उनको घरको अवस्था भने कमजोर छ । पतिले कोरिया गएर लामो समय पैसा नपठाएको र अर्कै विवाह गरेपछि काम गर्ने लक्ष्यले उनी ओमान गएको थिइन् । श्रम सम्झौता नगरेको, पर्यटक भिसामा गएर घरेलु कामदार बनेकाले राज्यबाट पहल गर्न पनि सकेन । अहिले उनी सहयोगको खोजी गरेर बालबालिका हुर्काउन बाध्य छन् ।
गैरकानूनी रुपमा विदेश जाने र गैरकानूनी काम गर्नेहरु बढ्दै गएका छन् । गैरकानूनी काम गर्दा अप्ठ्यारोमा परेपछि मात्र उनीहरुले सहयोगको खोजी गर्छन् । सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मीनप्रसाद उपाध्यायका अनुसार, गैरकानूनी रुपमा विदेशमा गएर काम गर्न खोज्दा धेरै मानिस अप्ठ्यारोमा परेको बताए । ‘कतिपयले उतै ज्यान गुमाएका छन्, कोही घाइते भएका छन्’ उपाध्यायले भने, ‘प्रक्रिया नभएकोले क्षतिपुर्ति, राहत र बिमा केही नभएकालाई उद्धार गर्न गाह्रो परेको छ ।’
चालु आर्थिक वर्षमा विदेश जाने बागलुङका ९८ जना विदेशमा समस्यामा परिसकेका छन् । तीमध्ये जेठ मसान्तसम्म ४७ वटा समस्या केन्द्रले समाधान गरिदिएको छ ।
ठगी, मृत्यु र अन्य सहायता समेत गरेर चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ करोड ७१ लाख आर्थिक सहायता प्रदान गरेको छ । ठगीमा परेका, मृत्यु भइसकेका र अन्य समस्या परेको यो तथ्यांक हो । केन्द्रले हरेक चालु आर्थिक वर्र्षमा मात्रै राहदानी बनाउने ६ हजार १६ जनालाई परामर्श गराएको छ । एकिकृत तथ्यांक प्रणाली नहुँदा वैदेशिक रोजगारीमा रहेकाको संख्या भने कहिँकतै भेटिँदैन् ।
वैदेशिक रोजगारीका दुखान्त











































