बागलुङ/ कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोला आसापास र मालढुंगा क्षेत्रमा भएको दोहनको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा कालाखोला क्षेत्रमा सबैभन्दा बढी नदी दोहन भएको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । ‘‘नदीमै आएर हेर्दा त डरलाग्दा खाडल बनाएर नदी दोहन गरिएको भेट्यौं’’ थापाले भने, ‘‘अनुसन्धानपछि मापदण्ड विपरित कालीगण्डकी दोहन गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौं ।’’
कालाखोला क्षेत्रमा झण्डै ३ सय मीटर लामो, १ सय मीटर चौडा र ७ मीटर सम्मको गहिराइमा एस्काभेटर लगाएर नदी दोहन गरिएको छ । ‘‘बालुवा झिक्ने नाममा ढुंगा समेत निकालिएको पाईयो’’ थापाले भन्नुभयो । कालाखोला क्षेत्रको वातावरणमा समेत नकारात्मक असर पर्ने गरी जथाभावी दोहन गरिएको थापाको भनाई छ ।
वातावरणिय प्रभाव मुल्यांङ्कन (आइईई) प्रतिवेदनमा बढीमा १ दशमलब २० मीटर मात्र बालुवा उत्खनन् गर्न पाउने प्रावधान छ । तर जथाभावी उत्खनन् मात्र नभइ पानीको बहाव नै हटाएर बालुवा र ढुंगा निकाल्ने, नदीलाई कुरुप बनाउने काम समेत भएको हो । नदी दोहन गरेपछि पानी लगाएर खाल्डा पुरेझै गरिएको थापाले बताए ।
आइतवार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको नेतृत्वमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी, सशष्त्र, प्राविधिकसहित विभिन्न निकायले संयुक्त रुपमा अनुगमन गरेका थिए ।










































