#
गृह पृष्ठ मेलापत बगानमा व्यापारीः भारतीय रोकिँदा स्थानीयको केराले मुल्य पाउन थाल्यो

बगानमा व्यापारीः भारतीय रोकिँदा स्थानीयको केराले मुल्य पाउन थाल्यो

बागलुङ/बागलुङ नगरपालिका–१३ नयाँपुलका लिलाधर जैसीको केरा बारीमा दैनिकजसो बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनहुँ उनको बारीमा धाउँछन् ।
पछिल्लो ६ महिना यता लिलाधर र उनका गाउँले केरा बेच्न बजार जानुपरेको छैन् । घरघरमै आउने व्यापारीले केरा आफै खोज्छन्, आफैले काट्छन् र गन्ती गरेपछि केराकै बोटको फेदमा पैसा बुझाउँछन् । यो देखेर यहाँका किसान दंग छन् ।
भारतीय केराको आयात रोकिएपछि यहाँका स्थानीय केराको मुल्य बढेको छ । जाडो मौसमा प्रतिदर्जन ६० रुपैयाँ र गर्मी मौसममा प्रतिदर्जन ७० देखि ८० रुपैयाँमा बिक्री हुँदै आएको केरा आजभोली दर्जनको एक सय रुपैयाँ पर्न थालेको छ । बजार जाने झण्झट नहुने र बारीमै केराको मुल्य बढी पाउँदा निकै खुसी लागेको जैसी बताउँछन् । दर्जनमा हिसाब हुने गाउँघरमा व्यापारीले किसानको बारीबाटै केरा उठाएर थैलो भर्छन् । यहाँका किसानको दैनिकी धान्ने अर्को स्रोत केरा हो । नयाँ पुल आसपासका क्षेत्रमा केरा खेती बिस्तार हुँदै गैरहेको छ ।
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसान इश्वरी प्रसाद शर्माले पनि पछिल्लो समय केराले राम्रो मुल्य पाएको बताउँछन् । बजारमा भारतीय केरा र नेपालको तराईको केरा आउँदा स्थानीय जातका केरा बिक्री गर्न कठिन हुने गरेको भएपनि पछिल्लो समय केराको माग उच्च रहेको उनले बताए ।
“यो बेला केरा फलाउन सकेको भए निकै राम्रो मुल्यमा बिक्री हुने रहेछ” जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान मोती प्रसाद शर्माले भने, “अघिल्ला वर्षको तुलनामा यो वर्ष केराको माग उच्च छ ।” माग र मुल्य दुबै बढेकाले केराखेती गरेका किसानले राहतको महशुस गरेको उनले बताए ।
वर्षातको समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर यहाँका किसानले केरा खेती गर्दै आएका छन् । ‘मकै र कोदोको मुल्य हिसाब गर्दा वर्षमा १८ हजार कमाई हुन्थ्यो, लगाउने–गोड्ने दुःख त कति हो कति’ शर्माले भने ‘समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकी बद्लिएको छ ।’
पछिल्लो समय गाउँका किसानले परम्परागत खेतीलाई परिवर्तन गरेर केरा खेती गरेका छन् । मोती प्रसाद शर्माले जस्तै जैमिनीका किसानले बाँझो जग्गा र खेतीयोग्य जमिनमा समेत केरा खेती गरेका छन् । किसानले केराका लागि आवश्यक मलको जोहो गर्न गाई भैंसी पालेका छन् । खानेपानीका लागि प्रयोग भैरहेको पानीलाई बचत गरेर केरामा सिंचाईं गर्छन् ।
यहाँका किसानले स्थानीय रामरेखे लोकल, मालबोक, मुङ्ग्रे, ध्रुसे, फुस्रे, जहाजी, चिनीकेरा लगायतका केराको खेती गरेको जैमिनी नगरपालिकाका कृषि प्राविधिक रबिन्द्र शर्मा बताउँछन् । कसैले व्यवसायीक खेती गरेका छन् भने केहीले आफ्नो धेरथोर जग्गामा दुईचार बोटमात्रै केरा लगाएरै पनि अम्दानीसँग जोडिएका छन् ।
बजारमा पछिल्लो समय स्थानीय केराकै माग धेरै छ । स्थानीय जातको केरा पकाउन कुनै विषादीको प्रयोग गर्न नपर्ने र खाँदा स्वादिलो भएकाले माग उच्च रहेको बागलुङ बजारका व्यवसायी सागर सुवेदीले बताए । “यहाँको केरा पाकेपछि पनि लामो समय टिक्छ, घाटा हुँदैन्” सुवेदीले भने “तराई र भारतको केराभन्दा व्यवसायी र उपभोक्ता दुवैलाई यो केरा फाइदाजनक छ ।” पछिल्लो समय केराको मुल्य बढाएरै किसानलाई भुक्तानी दिने गरिएको सुवेदीले बताए । उनका अनुसार पछिल्लो एक वर्ष यता बागलुङ बजारमा केराको माग स्थानीय केराले नै धानेको छ ।
बजारमा स्थानीय केराको मुल्य प्रतिदर्जन १ सय २० देखि १ सय ८० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । एकाद रुपमा तराईबाट आउने केराको मुल्य भने प्रतिदर्जन दुइ सय ५० भन्दा धेरै छ । बागलुङ बजारमा दर्जनबढी होलसेल व्यापारीमार्फत दैनिक एक सय कार्टुनभन्दा धेरै भारतीय केरा भित्रिने गरेको थियो ।
१ हजार ३ सयदेखि १ हजार ६ सय प्रतिकार्टुन तिरेर यहाँका व्यवसायीले केरा खरिद गर्ने गरेका थिए । तर अहिले त्यो सबै माग स्थानीय केराले धानेको थोक व्यवसायी खिमबहादुर केसीले बताए । “यतिनै भनेर तथ्यांक राखिएको त छैन् तर दैनिक दुई लाख माथी केराको खरिदमा बाहिरिने गरेको थियो” केसीले भने “मागे जती त पुगेको छैन्, तर अहिले लोकल केराले अभाव हुन भने दिएको छैन् ।”
बागलुङका स्थानीय सरकारले पनि केरा खेतीको प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम बनाएका छन् । जैमिनी नगरपालिकाले ‘शेरा जाउँ केरा खाउ’ अभियान नै घोषणा गरेको छ । किसानलाई बिउ मल र बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...