बागलुङ –तिहारको बिदाको समयमा गाउँठाउँको वस्तुस्थितीको अवलोकनका लागि निस्केका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीले गलकोटको एक शहरी स्वास्थ्य केन्द्रलाई कम्प्यूटर र प्रिन्टर सहयोग गर्नु भएको छ ।
भेटघाट र अवलोकनका लागि बागलुङका गाउँ गाउँ हिडेका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले व्यक्तिगत रुपमा गलकोटको एक शहरी स्वास्थ्य केन्द्रलाई कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गर्नु भएको हो ।
गलकोट नगरपालिका वडा नम्बर ११ मनेवामा रहेको शहरी स्वास्थ्य केन्द्र तथा राजमार्ग आपतकालीन स्वास्थ्य सेवा इकाईलाई एकथान कम्प्यूटर र एकथान प्रिन्टर उपलब्ध गराउनु भएको हो ।
केही समय पहिले मध्यपहाडी लोकमार्गमा पर्ने शहरी स्वास्थ्य केन्द्रमा पुग्दा कम्प्यूटर प्रिन्टर उपलब्ध गराउने प्रतिवद्धता गरेर फर्किएका स्वास्थ्यमन्त्री पाठकले सोही बचन अनुसार स्वयं उपस्थित भएर उक्त सामग्री हस्तान्तरण गरेको गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका वडा अध्यक्ष डम्मर श्रीषले बताउनु भयो ।
‘उहाँलाई हामिले कम्प्यूटर र प्रिन्टरको आवश्यकता रहेको जानकारी गराएका थियौँ,’ वडा अध्यक्ष श्रीषले भन्नुभयो ‘छिट्टै उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएको थियो, शनिबार उहाँले आफ्नो प्रतिवद्धता पुरा गर्नु भयो ।’ स्वास्थ्य केन्द्रलाई कम्प्यूटर र प्रिन्टरको तत्काल आवश्यकता रहेकाले व्यक्तिगत रुपमै सहयोग गरेको मन्त्री पाठकले बताउनु भयो ।











































