काठमाडौं –इन्डियन प्रिमियर लिग (आइपीएल)को फ्रान्चाइज टोली राजस्थान रोयल्सले मुख्य प्रशिक्षक राहुल द्रविडले आइपीएल २०२६ अघि आफ्नो कार्यकाल पूरा गर्ने घोषणा गरेको छ। एक विज्ञप्ति जारी गर्दै राजस्थान रोयल्सले अर्को आइपीएलमा राहुल द्रविड मुख्य प्रशिक्षक नहुने जनाएको हो।
राजस्थान रोयल्सले यसलाई ठुलो परिवर्तन भन्दै द्रविडको नेतृत्वले धेरै वर्षदेखि टोलीलाई नयाँ दिशा दिएको बताएको छ।
राजस्थान रोयल्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ,ʻराहुल धेरै वर्षदेखि हाम्रो यात्राको केन्द्रमा छन्। उनको नेतृत्वले खेलाडीहरूको एक पुस्तालाई प्रभाव पारेको छ। टोलीमा बलियो मूल्यमान्यता स्थापित गरेको छ र फ्रान्चाइजीको संस्कृतिमा स्थायी छाप छोडेको छ।ʼ
टोली व्यवस्थापनले समीक्षाको क्रममा द्रविडलाई फ्रान्चाइजीमा ठुलो भूमिकाको प्रस्ताव गरिएको जनाएको छ। तर उनले यसलाई अस्वीकार गरेको व्यवस्थापनले जनाएको छ।
विज्ञप्तिमा थप भनिएको छ,ʻराजस्थान रोयल्स, खेलाडी र विश्वभरका लाखौं प्रशंसकले राहुलको योगदानका लागि धन्यवाद दिन्छन्।ʼ











































