बागलुङ- जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल र बुर्तिवाङ अस्प्तालमा ‘इमरजेन्सी ट्रमा केयर इकाई’ सञ्चालन हुने भएको छ । इकाइ सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले ७६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट मध्यविन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा इमरजेन्सी ट्रमा केयर इकाइ सञ्चालन एवम् सुदृढीकरण गरिने छ । सानो बजेट भएपनि अस्पतालमा जनशक्ती व्यवस्थापनमा सहयोग पुग्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले विश्वास व्यक्त गर्नुभयो ।
एघार वर्षअघि संविधानसभाका सभासद हरि खड्काको सडक दुर्घटनामा निधन भएपछि धौलागिरि अस्पतालमा ‘हरि खड्का ट्रमा सेन्टर’ सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो । त्यसपछि संघ र प्रदेश सरकारको सहयोगमा ट्रमा इकाई सञ्चालनमा आइसकेको छ । बजेटले इकाई सञ्चालनमा सहज हुने डा. तिवारीले बताउनुभयो ।
मुस्ताङ र मनाङमा उच्च भेगिय स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउन ८३ लाख बजेट विनियोजन गरिएको छ । मुस्ताङ र मनाङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्स स्थापना गर्नेबारे गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चासो देखाउँदै आउनुभएको थियो ।
पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान गर्न अनिवार्य स्वास्थ्य परीक्षण गरेपछि मात्रै मुस्ताङ भ्रमणको वातावरण बनाउने मन्त्री पाठकको योजना छ । बजेटले लेक लागेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न उपकरण र दक्ष जनशक्तीसहित हाइ अल्टिच्युड उपचार केन्द्र सञ्चालनमा सहज हुने मन्त्री पाठकले विश्वास गर्नुभयो ।
त्यस्तै बजेटमा कालीगण्डकी जलाधार क्षेत्रलाई कृषि उत्पादन र पर्यापर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । कालीगण्डकी दोहनविरुद्व आवाज उठीरहेको बेला यो कार्यक्रम आएको हो । नदीको जलाधार क्षेत्र संरक्षण नगरेमा त्यसको अस्तित्व समाप्त हुने भएकोले संरक्षणका प्रयास पनि हुने विश्वास लिइएको छ । अवैध रुपमा भइरहेको कालीगण्डकी दोहनले नदी सभ्यता समेत लोप हुन लागेको बेला कृषि उत्पादन र पर्यापर्यटन कार्यक्रमले केही राहत मिल्नेछ ।
यस्तै, म्याग्दीको दरबाङ–ढोरपाटन सडक स्तरीय बनाएर पर्यटकीय बागलुङ र म्याग्दीको संगमस्थल सोलेडाँडासम्म पर्यटक लैजान सकिने गरी बजेट विनियोजन गरिएको छ । साथै, रणनीतिक सडकहरु छिट्टै सम्पन्न गर्ने बजेटमा उल्लेख छ । हाल जिल्लामा केही रणनीतिक सडकहरु बजेट अभावमा पुरा भएका छैनन् । कतिपय स्थानमा भने ठेकेदारको लापरबाहीले काम रोकिएका छन् ।










































