राष्ट्रियका सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले २०३६ सालमा विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । पञ्चायतविरोधी आन्दोलनमा सहभागी भएको भन्दै २०४२ सालमा उनी चार वर्ष जेल पनि परे ।
२०४९ र २०५४ का स्थानीय निर्वाचनमा दुई पटक साबिकको राम्जा देउराली गाविसको अध्यक्षमा निर्वाचित तिमिल्सिना जिल्ला विकास समिति पर्वतको सभापतिसमेत बने ।राष्ट्रिय सभाको अध्यक्ष हुनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए । राष्ट्रिय सभाको अध्यक्ष रहँदा उनी खासै ठुलो विवादमा परेनन् ।
तिमिल्सिनासँग विविध विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
- पदबाट बाहिरिएपछि मानिस गुमनामजस्तै हुन्छन् । तपाईंमा पनि यो कुरा लागु हुन्छ ?
अन्य देशमा बरु गुमनाम होलान् तर नेपालमा एउटा जिम्मेवारीमा पुगेपछि बाँचुन्जेल नछाड्ने प्रचलन छ । त्यसैले गुमनाम नेपालमा हुँदैनन् । बरु ‘अपवादमा तपाईंचाहिँ किन ?’ भन्नुभएको हो भने ठिकै होला । एउटा जिम्मेवारी पूरा गरेको एक वर्ष पुग्दैछ । परिस्थितिले जे माग्छ, जेमा भूमिका निर्वाह गर्न सकिन्छ, त्यसमा फेरि लाग्ने कुरामा कुनै समस्या छैन । अहिले त्यो भूमिकामा नदेखिएको मात्र हो ।
पदमा हुँदाको त्यो शासन सौकत, अगाडि–पछाडि सुरक्षा दस्ता लिएर हिँड्न बानी परेको मान्छे एक्कासी त्यो गुम्दा कस्तो महसुस हुने रहेछ ? कोही त डिप्रेसनमै जान्छ भन्छन् । तपाईंलाई त त्यस्तो भएको छैन नि ?
खै ! को गए, मलाई थाहा छैन । डिप्रेसनमा जानुपर्ने कारण म देख्दिनँ । धरातल बिर्सियो, जिम्मेवारी बिर्सियो र अर्कै कल्पना गर्यो भने त्यस्तो होला । त्यहाँ जाँदा जीवनभरिका लागि गएको हुन्छ र ? राजा घोषणा गरिएका राजाका छोरा त बाहिर गएर बसेका छन् भने जनताको छोरो त एउटा जिम्मेवारीमा जान्छ, त्यो सकिएपछि फर्किन्छ । अझ मेरो हकमा त म पदमै हुँदा पनि त्यस्तो तामझाम गरेर बसेको व्यक्ति होइन ।
- अध्यक्षको कार्यकाल सकिएपछि पार्टीमा राम्रै जिम्मेवारी दिने आश्वासन दिइएको थियो तर अहिले दिइएन र तपाईं सक्रिय हुन पाउनुभएन, सही हो ?
आश्वासन दिइएको कुरा तपाईंले कहाँ सुन्नुभयो, मलाई थाहा हुने कुरा भएन तर पदबाट निस्किनै बित्तिकै जिम्मेवारी दिन्छु भनेर मलाई कसैले आश्वासन दिनुभएको थिएन । यद्यपि जिम्मेवारी दिने प्रचलन छ । सभामुख भइसकेका व्यक्तिलाई यसअघि जिम्मेवारी दिइएको छ । समय क्रममा जिम्मेवारी आउला ।
बिचमा हुन नसके महाधिवेशनपछि हुने व्यवस्था हो । अहिले त्यसमा केही हतारो छैन ।
- स्थायी समिति सदस्य नै बनाउने आश्वासन दिइएको थिएन त ?
म पोलिटब्यूरो सदस्य हुँदा पोलिटब्यूरो सदस्य नै नभएका त अहिले स्थायी समितिमा छन् । त्यो अवस्थामा मलाई स्थायी समिति सदस्य बनाउने कुरा आश्वासन किन ? स्वाभाविक नै हो नि ।
- तपाईंको आफ्नै जिल्ला पर्वतमा समेत आफूले चाहेको व्यक्ति नेतृत्वमा ल्याउन सक्नुभएन भन्ने छ । किन यति कमजोर हुनुभयो ?
मेरो समूह कुनै छैन । व्यक्तिगत रूपमा यो व्यक्ति ठिक हुन्थ्यो होला भन्ने एउटा कुरा हो । यो खण्डन गर्न योग्य विषय पनि होइन ।
- गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र तपाईंको एउटै गुट बनेको हो ?
मैले कसैलाई समाएको पनि छैन र कसैलाई छाडेको पनि छैन । म यो टिम, त्यो टिम भनेर लागेको छैन ।
- पहिला त केपी ओलीको नाममा चर्को गुटबन्दी गर्नुभएकै हो नि ?
त्यो बेलामा पार्टीमा चर्को गुटबन्दी नै थियो । त्यता लागेबापत लामो समयसम्म जिम्मेवारी नपाएको पनि हो ।
- राष्ट्रिय सभाको अध्यक्ष बनिसकेपछि पनि तपाईंले म केपी ओलीको प्रिय पात्र नै हो भन्नुभएको थियो । यस्तो प्रिय पात्रलाई जिम्मेवारी दिन किन आनाकानी ?
त्यतिबेला पनि हो । अहिले पनि प्रिय नै छु । नहुनुपर्ने कारण पनि छैन । लुकाउनु पर्ने विषय नै होइन । आवश्यकता देखेपछि जिम्मेवारी दिइहाल्नुहुन्छ नि ।
- पूर्वराष्ट्रपति विद्या भण्डारी र केपी ओलीको दुई समूहमा तपाईंचाहिँ कुन समूहमा हुनुहुन्छ ?
दुई जनाको समूह छ भन्ने नै मलाई लाग्दैन । आवश्यक नै नभएको बेला यता लाग्छु र उता लाग्छु किन भन्ने ?
- राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुनुहुन्छ/हुनुहुन्न भन्ने बहसमा तपाईं कतातिर ?
व्यक्तिको इच्छा र सम्बन्धित पार्टीको आवश्यकताले भरपर्छ । आउने कुरा अनुचित नै हुन्छ भन्ने छैन ।
- विद्या भण्डारी एमालेमा सक्रिय हुने सम्भावना कति छ ?
उहाँले एमालेमा आएर म एकदम सक्रिय हुन्छु भनेको मैले सुनेको छैन । उहाँको मुखबाट सिधा मैले नसुनेसम्म यही भनेर म टिप्पणी गर्दिनँ ।
- तपाईंले यसबिचमा उहाँलाई भेट्नुभयो ?
एक पटक भेटेँ ।
- सोध्नुभएन त ?
‘खै ! बाहिर के कुरा भएको छ, मैले त केही भनेको छैन’ भन्नुहुन्थ्यो ।
- अहिलेको राजनीति र तिनका नेताको काम गराइलाई कसरी हेर्दै हुनुहुन्छ ?
दलका नेताहरू खास गरेर प्रमुख नेताहरू आवेशमा आएपछि सब कुरा बोलिदिने । भोलि केही गर्नु नपर्ने । प्रमाणित नहुने कुरा पनि बोल्ने । आफू हुँदा केही नगर्ने, हटेपछि फायल खोइ भन्ने प्रश्न गरिन्छ । एकले अर्कोलाई बदनाम । अर्कोले अर्कोको बदानाम गर्दा बाहिर सबै उस्तै भन्ने सन्देश गएको छ । गिरिबन्धु, ओम्नीको कुरा गर्ने प्रचण्डले हिजो किन फाइल नखोलेको ? क्यान्टोनमेन्ट, शेरा दरबारबारे पनि कांग्रेस, एमालेले भाषण गर्ने होइन । छानबिन गर्ने हो ।
- ६ दिनपछि संसद अधिवेशन डाकिएको अवस्थामा ६ दिन अघि नै अध्यादेश ल्याइयो । सरकार संसद् छल्न किन खोज्छ ?
संसद छलेर कहाँ जान्छ र सरकार ? अध्यादेश संसदमा ल्याउनुपर्दैन र ? अध्यादेश ल्याएर संसद फेस गर्नु नपर्ने भएको भए बाहिरका हल्ला ठिकै हो तर ढिलोचाँडो जाने त त्यहीँ हो । कानुन बनाउने हाम्रो गति कस्तो छ ? म अध्यक्ष हुँदा राष्ट्रिय सभाले पारित गरेर पठाएको विधेयक अहिलेसम्म प्रतिनिधि सभाले टुङ्ग्याएको छैन । अध्यादेश आएपछि त कम्तीमा ६० दिनमा कानुन बन्ने भयो नि ।
- राष्ट्रिय सभामा बहुमत छैन भन्ने जान्दाजान्दै अध्यादेश ल्याएर सरकारले कच्चा काम गर्यो भन्ने लाग्दैन ?
पारित हुन्छ कि हुँदैन भनेर सबै दलसँग छलफल गरेर त सरकारले अध्यादेश ल्याउँदैन नि त । संसदमा आउँछ । छलफल हुन्छ । परिमार्जन होला ।
- अध्यादेशका कारण संसद नै बन्धक भएकोजस्तो लाग्दैन ?
त्यत्रा अरु विधेयक छन् । त्यसमा काम गरे हुन्छ नि ।
- जुन गतिमा अहिले संसद चलिरहेको छ । यो गति ठिकै छ ?
गति बढाउनुपर्छ । मूल रूपमा समितिहरूलाई गतिशील बनाउनुपर्छ । सभामुखले पनि समितिका सभापतिहरूलाई गति दिनुस् भन्नुपर्छ । समयसीमा तोकेर विधेयकलाई अगाडि बढाउन आग्रह गर्नुपर्छ ।
एमालेले सरकारको नेतृत्व गरिरहेको छ तर एमालेको यात्राचाहिँ ओरालोतर्फ छ । सही हो ?
ओरालै लागेको छैन ।
- उकालै लागेको छ ?
उकालो कति लागेको छ, त्यो अलग कुरा हो । ओरालो लागेको छैन । ओरालो नलागेपछि उकालै लाग्नु पर्दैन नि । तेर्सो लागेको पनि हुन्छ । परीक्षण गर्ने समय आउँदैछ । त्यसमा थाहा होला ।
- एक जना दानवीरले एमालेको घर बनाइदिने विषयमा ठुलो बहस भयो । त्यो बहसमा तपाईं कतै संलग्न भएको पाइएन नि ?
कति जनाबाट लिन हुने, कतिबाट लिन नहुने ? घोषणा गरेर लिन नहुने, लुकाएर लिन हुने । तिनै दानवीरले पनि सबैलाई सहयोग गरेको छु भनेको सुनिन्छ । यसमा राज्यले नै व्याख्या गर्नुपर्छ । घोषणा गरेर लिनु राम्रो हो । बरु अब दलहरू एउटा निष्कर्षमा पुग्न जरुरी छ ।
- राष्ट्रिय सभाको अध्यक्षको कार्यकाल सकिएपछि सरकारबाट पाउने सेवा सुविधा पनि तपाईंलाई दिइएको छैन भनिन्छ । किन यस्तो भयो ?
निर्णय गरिएको छैन ।
- अरुले लिइरहेका छन् त !
लिनुभएको छ क्यारे ।
- तपाईंमाथि किन पूर्वाग्रह ?
मैले कहीँ सोधेको छैन । सेवा सुविधाका लागि दिनदिनै कराउन जाने, मरिहत्ते गर्ने कुरा होइन ।
- अब चुनाव लड्नुहुन्छ ?
त्यति धेरै इच्छा छैन । जसरी पनि टिकट चाहियो भनेर म अध्यक्षकोमा जान्नँ । कुनै नेताकोमा जान्नँ । छिनाझपटी गरेर संसदीय राजनीतिमा आउन म लालयित छैन । भत्ता खानकै लागि संसदमा किन जाने ?











































