पर्वत-पर्वतमा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिकहरुमा हराउँदै गएको पठन संस्कृतिको विकास गर्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको हो ।जिल्ला सदरमुकाम कुश्मामा रहेको पुरानो गुप्तेश्वर पुस्तकालय बन्द भैसकेको अवस्थामा नेकपा एमाले पर्वतले पहिलोपटक पुस्तकालय स्थापना गरेको हो । सदरमुकाम कुश्माबजारको मैत्रीचोकमा रहेको नेकपा एमाले पर्वतको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।
| पुस्तकालयमा राजनीति, कानून, अर्थशास्त्र, इतिहास, धर्म संस्कृति, विज्ञान, कला, प्रकृति विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृति लगायत नेपाली साहित्यका सवै विधाका पुस्तकहरु राखिने भएको छ । पुस्तकालय स्थापना सँगै अहिले विभिन्न विधाका पुस्तकहरु संकलन गर्ने काम भैरहेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । यसलाई जिल्लाकै साझा पुस्तकालयको रुपमा विकास गरिने समेत पहाडीको भनाई रहेको छ । |
| सामाजिक सञ्जाल र सतहि सूचनाका आधारमा धारणा बनाउने अहिलेको अवस्थामा परिवर्तन गर्नका लागिनै पुस्तकालयको आवश्यकता ठानेर एमालेले आफ्नै श्रोतवाट स्थापना गरेको उहाँको भनाई छ । ‘यहाँ पार्टी कार्यकर्तादेखि जुनसुकै दलमा आस्था राख्ने हुन् वा अध्ययनमा रुची राख्नेहरुका लागि चौविसै घण्टा सेवा उपलव्ध गराईने छ’ अध्यक्ष पहाडीले भन्नुभयो । |
| राजनीति गर्ने व्यक्ति होस् वा अन्य जुनसुकै पेशा व्यावसाय गर्ने व्यक्तिका लागि पनि अध्ययन र अनुसन्धान अनिवार्य आवश्यकता हो । जवसम्म गहिरो अध्ययन र अनुसन्धान गर्न सकिदैन वा विचारले भरिपुणर् हुन सकिदैँन तबसम्म कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्न नसकिने भएकाले अध्ययनतर्फ नागरिकलाई प्रेरित गर्नका लागि पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका सचिब सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । |
| पुस्तकालयमा पहिलो चरणमा १५ हजार भन्दा बढि पुस्तकहरु राखिने भएको छ । कार्यालयको पुस्तकालयको क्षेत्रफल हेरेर विस्तार गर्दै लग्ने योजना रहेको पौडेलले बताउनुभयो । एमालेले पुस्तकालयका लागि आवश्यक र पठनयोग्य सामाग्री उपलव्ध गराउन आव्हान समेत गरेको छ । पुस्तकालय स्थापना सँगै सदरमुकाम र आसपासमा लामो समयदेखि खड्किएको अभाव समेत पुरा हुने पौडेलले बताउनुभयो । |
| विशेषगरी अध्ययनमा रुचि राख्ने, आर्थिक अभावका कारण पुस्तक किनेर पढ्न नसक्नेहरुका लागि बढि फलदायी हुने अध्यक्ष पहाडीको अपेक्षा रहेको छ । पार्टी कार्यालयको माथिल्लो तलामा स्थापना गरिएपनि सवै नागरिकहरुले सेवा लिन उहाँले आव्हान समेत गर्नुभएको छ । |
| यसैबीच पर्वत साहित्य संगमले आईतवार साढे पाँच सय विभिन्न विधाका पुस्तकहरु पुस्तकालयलाई सहयोग गरेको छ । संस्थाका अध्यक्ष खेम राज शर्मा चापागाई, संस्थापक अध्यक्ष ईन्द्र कुमार विकल्प, पूर्व अध्यक्ष ईन्द्रमान खत्री र पूर्व अध्यक्ष राजेन्द्र पहाडीले संयुक्त रुपमा पुस्तक हस्तान्तरण गर्नुभएको थियो । |











































