बागलुङ-आगामी जेठ १३ देखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने अन्तराष्ट्रिय पुरुष कब्ड्डी प्रतियोगिताका लागि बागलुङका दुई खेलाडि छनौट भएका छन् ।
लुम्बिनी प्रदेशको नवलपरासीमा सम्पन्न पहिलो चरणको छनौटमा गण्डकी प्रदेशबाट बागलुङ नगरपालिका वडा नं. ३ का जीवन ब्लोन र वडिगाड गाउँपालिका वडा नं. ४ का विशाल थापाले नेपाली टोलीमा स्थान बनाएको कब्ड्डीका प्रशिक्षक सन्दिप पन्तले जानकारी दिए ।
छनौट भएका थापा र ब्लोन शनिबारदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित कब्ड्डी प्रशिक्षण केन्द्रमा हुने बन्द प्रशिक्षणमा जुट्ने प्रशिक्षक पन्तले बताए । देशभरबाट पहिलो चरणमा छनौट गरिएका २६ खेलाडिमध्ये गण्डकी प्रदेशबाट थापा र ब्लोन मात्रै छनौट भएका हुन् ।
बैशाख २७ गते हुने अन्तिम चरणको छनौटमा आफुलाई सफलसिद्व गर्न थापा र ब्लोनले मेहेनत गरेको प्रशिक्षक पन्तले बताए । अन्तिम चरणमा १४ जना खेलाडि छनौट हुने छन् । ‘घरेलु खेलकुदमा देखाएको उच्च प्रदर्शनले उनीहरु दुवै राष्ट्रिय टोलीमा अटाउनेमा विश्वस्त छु’ पन्तले भने । रेड र डिफेन्समा दुवै खेलाडि सक्षम रहेको पन्त बताउँछन् । जीवन रेडर हुन् भने विशाल अलराउण्डर खेलाडि हुन् । थापा र ब्लोन गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने नियमित खेलाडि समेत हुन् ।
बंगलादेशमा हुने कब्ड्डीका लागि बागलुङबाट दुई खेलाडि जीवन र विशाल छनौट











































