बागलुङ-केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक मदन केसी लगायतका प्रहरी अधिकृतहरु इमेज सहकारी पीडितको गुनासो सुनिरहेका छन् । पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरुको दैनिकी बनेको छ ।
बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेर हिँडेपछि प्रहरीमा भीड लागेको हो । प्रहरीले नियमित मुद्दा, उजुरी, जाहेरी, अनुसन्धान र मेलमिलापका कामसँगै दुई सहकारी पीडितका उजुरी लिने काममा व्यस्त छ ।
यो समाचार तयार पार्दासम्म इमेजका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ६८ उजुरी परेका छन् । बचतकर्ताको रकम हिनामिना गरी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा समोबार बेलुकासम्म ७ सय ६८जनाको उजुरी परेको हो ।
ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका नेपाली ५ जेठदेखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । तर, अहिलेसम्म उनीहरुको अत्तोपत्तो छैन ।
‘नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजीरहेको छ, तर कोही भेटिएका छैनन्,’ प्रहरी नायव उपरीक्षक मदन केसीले भने ‘उजुरी गर्नेहरु राति आठ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भीडले भरिएको छ ।’
बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्व उजुरी लिन पत्राचार गरेको थियो । त्यसपछि बचतकर्ता उजुरीका लागि प्रहरी कार्यालय पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार सोमबार बेलुकासम्म ७६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै ४ हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको केसीले जानकारी दिए । उनका अनुसार हालसम्म ८९ करोड ६६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ ।
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुबै ठाउँका बचतकर्ताले संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।











































