#
गृह पृष्ठ मेलापत तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै

तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै

काठमाण्डाै – स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ ।  फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन् । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।

फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैँ लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना भाइरस सङ्क्रमण जोखिम कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको छ भन्नुभयो ।

“यस वर्ष बजार माग बढेको छ”, उहाँले भन्नुभयो, “माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याउन लागिएको हो ।”

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् ।  माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ ।  भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ ।

लामो समयदेखि कोरोना भाइरस सङ्क्रमणका कारण दैनिक रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब ७० लाख रुपैयाँको कारोबार गर्न थालेको छ । कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमण पनि बिस्तारै न्यून हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो । कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय बिस्तारै तङ्ग्रिन थालेको छ । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय बिस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय समातेको हो ।

पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी हुने अनुमान छ । केही वर्षयता वार्षिक तीन अर्ब रुपैयाँ मूल्य बराबरका फूलको कारोबार हुने गरेको थियो । तिहार र अन्य मौसममा ११ करोड रुपैयाँ मूल्य बराबरको फूल विदेशबाट आयात हुँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाण्डाै, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...