पर्वत –कुस्माको चाक्लेडिलमा विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाईनको परिक्षण सफल भएको छ । कालिगण्डकी नदी माथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी नौ जना व्यवसायीहरुले द हार्नेस कम्पनि मार्फत १५ करोडको लाग्तमा यो जिपलाईन निमार्ण सम्पन्न गरेको अध्यक्ष बिदुर पौडेलले बताउनुभयो । उहाँका अनुसार पर्वतमा साहसिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्वपूर्ण हुनेछ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीका संचालक राजकुमार बस्नेतका अनुसार पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेकोमा यसले टेवा पुग्ने बिश्वास गर्नुभएको छ । सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा यो जिपलाइन निमार्ण गरिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेण्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने संचालकले बताएका छन् ।











































