पर्वत- पर्वतमा पछिल्लो केहिसमय यता तोडफोड तथा चोरीका घटनामा वृद्धि भएपछि स्थानीय चिन्तित बनेका छन् । गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं. १४ आर्थरमा एकैरात आधा दर्जन घर तथा कार्यालयहरुमा चोरी भएको थियो । स्थानिय अमृत गुरुङ्गको घरबाट साढे १३ तोला सुन र १ लाख नगद रुपैयाँ चोरी भयो भने भीमबहादुर क्षेत्रीको पसलबाट ५ हजार ५ सय नगद चोरी भएको थियो । चोरी गर्न पुगेको समुहले कुस्मा नगरपालिका वडा नं. १४ को कार्यालय, पञ्चकोशी मावि र देवी मन्दीरमा समेत तोडफोड र चोरी गरेको प्रहरीले जनाएको छ । यस्तै गत शनिवार राति अज्ञात समुहले महाशिला २ भोक्सिङको वडा कार्यलय भवन तोडफोड गर्नुका साथै स्थानीय राम प्रसाद शर्माको पसलबाट नगद २५ हजार, ख्यामलाल पौडेलको पसलबाट १६ हजार, र तारा गुरुङको पसलबाट नगद ६ हजार र खाद्यान्नका सामग्री चोरी भयो । जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिका लगायत अन्य पालिकामा चोरले आतङ्क मचाएका छन् । चोरी र तोडफोडको घटना बढेपछि विभिन्न पालिकामा युवा, प्रहरी लगायतले समूह बनाएर गस्ती गर्न थालेका छन् । प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले चोरीका घटना एउटै प्रकृतिको भएकाले चोरी गर्ने समुह एउँटै भएको हुन सक्ने बताउनुभयो । बुढाथोकीले चोरी गर्नेको प्रहरी निरिक्षकको नेतृत्वमा विषेश अनुशन्धान टोली नै बनाएर खोजी कार्य गरिरहेको समेत बताउनुभयो ।










































