’बागलुङ ,१२ पौष चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङ खण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्र्तगत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोला सम्मको सडक दश मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।
कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भीर, पहरा र चट्टान काटेर सडकलाई दश मिटर चौडा बनाईरहेको छ ।
बागलुङ खण्डअन्र्तगतको मालढुंगा–बलेवा विमानस्थलसम्मको दश किलोमिटर सडक भने सेनाले गत वर्षनै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल लगाउने र माटो पन्छ्याउने काम मात्रै बाँकी छ ।
‘जैमिनी नगरपालिकामा पर्ने सबै खण्डमा काम चलिरहेको छ । कुनै अबरोध नभए जेठमा हामीले जिम्मेवारी हस्तान्तरण गर्छौं’ नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले भने ‘चिसोमा काम गर्नेहरु कम पाईन्छन् तर हामीले रोक्ने छैनौं ।’ बागलुङ खण्डअन्र्तगत २४ किलोमिटर १६० मिटर सडक फराकिलो बनाउने काम चलिरहेको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीको बाघखोरमा बम विष्फोट गरेर चट्टान कटानको काम भैरहेको भट्टराईले बताए । ‘केही ठाउँमा व्लाष्टिङको काम पनि बाँकी छ, केही ठाउँमा वाल लगाउनुपर्ने छ’ उनले भने ‘छिटफुट काम रहेकाले छिट्टै सकिन्छ भन्नेमा छौं ।’ उक्त खण्डमा सबैभन्दा कठिन मानिएको जैमिनी नगरपालिका–५ को भीर र वडा नं. ६ को काभ्रेको भीरमा चट्टान फोड्ने काम सकिएको भट्टराईले बताए ।
करिडोर फराकिलो भएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङहुँदै कोरला पुग्न सवारी साधनलाई सहज हुनेछ । सेनाको निर्माण कार्यदलले बागलुङ र गुल्मीको समेत गरी ३८ किलोमिटर सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा १८ करोड २५ लाख रुपैयाँमा जिम्मेवारी पाएको थियो ।
भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३४५ किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको आयोजनाले जनाएको छ । करिडोरको गुल्मी खण्डमा कालोपत्रेको कामसमेत सुरु भएको छ ।
चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर स्तरोन्नतीको काम धमाधम,











































