गृह पृष्ठ मेलापत गाउँमै बसेर दुध,तरकारी बेचेर क्षत्रीको मासिक २ लाख रुपैयाँ आम्दानी

गाउँमै बसेर दुध,तरकारी बेचेर क्षत्रीको मासिक २ लाख रुपैयाँ आम्दानी

पर्वत ,२० भदौ–महिलाको दैनिकी सबैभन्दा पहिले दैलो कुचो, चुलो चौका, घर परिवार, कुटो कोदालो र भैसी भकारा । यो सबै कुराको चुस्त व्यवस्थापन पछि मात्र रोजगार, पेशा, व्यवसाय । अझ भनौ, आफ्नो उद्धेश्य, रुची र क्षमता माथि स्वतन्त्रता । थुप्रै व्यवस्थाहरु बदलिए पनि यो व्यवस्था हाम्रो समाजमा अझै विद्यमान छ । अब सोचौ त, आज भन्दा २७ वर्ष अगाडी कस्तो अवस्था हुँदो हो ?भर्खर कक्षा १० मा पुगेकी १६ वर्षकी शोभालाई घर गरेर खान भन्दै माइतीले अन्माइ दिएका थिए । पर्वतको साविक कुर्घा गाविस वडा नम्बर ४ हालको फलेवास नगरपालिका–१० कुर्घाडाँडाकी शोभाको सोही ठाउँका सोमबहादुर क्षत्री सँग २०५० सालमा मागी विवाह भएको हो । विवाह भएकै साल एसएलसीको परीक्षा थियो, बिरामी परेका कारण नतिजा सोचे जस्तो आएन । शोभाले २०५५ सालमा पुनः भर्ना भएर एसएलसी पास गर्नुभयो ।

खाने, खेल्ने रमाउने उमेरमा क्षत्री परिवारकी जेठी बुहारी बनेर भित्रिएकी शोभालाई श्रीमानको नामको नागरिकता प्राप्त गर्न समेत परिवार सँग लड्नु परेको छ । हुन त हरेक सफल मानिसको पछाडी दुःख, सुख र संघर्षको लामो फेहिरस्त स्वभाविक हुन्छ । श्रीमान्को साथ र सहयोग हुँदाहुँदै पनि आफ्नो इच्छा अनुसार गर्न, परिवार समाजमा आफ्ना विचार राख्न र पुरुष सरह आफुलाई अब्बल देखाउनको लागि भने शोभाले ठुलै संर्घष नै गर्नुप¥यो ।अहिले पर्वतको फलेवास नगरपालिका–१० मा रहेको हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्ष रहेकी शोभाको व्यावसायिक र उद्यमी जीवनको कथा अरु धेरैका लागि प्रेरक बनेको छ ।

दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।

१६ वर्षको उमेरमा विहे, २४ वर्षको उमेरमा दुई सन्तानको आमा बनेकी शोभाले घाँस दाउरा र चुलो चौको मात्र गरेर जीवन नबिताउने उद्घोष सहित २०६० सालमा गाउँमा चुरा पोते बेच्न थाल्नुभयो । घाँस दाउरा, मेला पात गर्दा चुरा फुटिरहने तर लगाउनको लागि दिनभरी हिँडेर कुश्मा बजार आउनुपर्ने बाध्यता आफैले भोगेकी शोभालाई त्यो बेला सबैभन्दा उत्तम व्यवसायको रुपमा चुरापोते बेच्न सकिने लाग्यो । त्यसपछि टिनको बाकसमा घरको कोठाबाटै चुरा बेच्न थालेको उहाँ सुनाउनुहुन्छ ।

चुरा बेच्न थालेपछि उहाँलाई लाग्यो चिनी चियापत्ति, चाउचाउ विस्कुट पनि बेच्नुपर्छ । २०६१ सालमा उहाँले किराना पसल सुरु गर्नुभयो । ‘तिमी छोराछोरी र आफ्नो खर्च चल्ने गरि व्यवसाय गर, म विदेश जान्छु, दुई चार पैसा जोडेर छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भनेर श्रीमान मलेशिया उड्नु भयो,’ उहाँले संर्घषका अनेक पदचापबारे शुरुवाति कथा सम्झिदै भन्नुभयो, ‘कुश्मा बजारदेखी खच्चडमा बोकाएर सामान ल्याउँथे, गाउँमा बेच्दा घर खर्च चलेकै थियो, तर श्रीमान विदेशिए पछि गाउँमा कुरा काट्ने क्रम बढ्न थाल्यो, त्यसको नमिठो अनुभव म सँग छ ।’ चार वर्षपछि २०६५ सालमा श्रीमान मलेशियाबाट फर्कनुभयो, शोभाले त्यसपछि पनि ५ पटक सम्म श्रीमानले विदेश जान लगाएको भिसा आफुले लुकाएर जान नदिएको बताउँनुहुन्छ । श्रीमान साथमा नभए पछि जसले पनि कुरा काट्ने, श्रीमानले विदेशमा कमाउने पैसा दुबै मिलेर यही कमाउन सकिन्छ भन्ने साँेचले विदेश जान नदिएको उहाँको भनाई छ ।

२०६५ सालमा गाउँमा पहिलो पटक जीप पुग्यो । २०६८ सालमा बस पुगेको थियो । कुश्मा देखी लुङ्खु, हुवास सम्म बस चल्न थाले पछि सवारी चालकहरुले लामो रुटमा चिया खाजा खाने ठाउ भएन । तपाइले नै व्यवस्था गर्दिनु प¥यो भनेर शोभालाई भन्न थाले । त्यसपछि कस्मेटिकबाट सुरु हुँदै किराना बनेको उहाँको व्यवसाय श्रीमान श्रीमती मिलेर होटलमा रुपान्तरण गर्नुभयो । ‘हिउँदमा बस जीप चले पनि बर्खामा सवारी चल्दैनथे’ शोभा भन्नुहुन्छ–‘त्यसपछि होटलसँगै व्यावसायिक रुपमा दुध उत्पादन तर्फ लाग्यौ । २०७० सालमा गाउँका सबै मिलेर चिसापानी दुग्ध सहकारी दर्ता गरियो । स्थानीय युवराज चपाई अध्यक्ष रहेको त्यो सहकारीमा शोभा सचिव बन्नुभयो । सुरुमा २० जना शेयर सदस्यबाट ५ हजार रुपैयाँका दरले शेयर रकम संकलन गरेर दुधको बजारीकरणमा सहयोग गर्ने योजना बनाएको उहाँको भनाई छ । सहकारीमा आवद्ध सबैले गाई किन्ने निधो गरेपछि शोभाले चितवनको टाँडीमा पुगेर एउटालाई ८० हजार रुपैयाँ पर्ने ३ वटा होलिस्टिन र जर्सी गाई किनेर ल्याउनुभयो ।

गाई किनेर दुध बेच्न सोचे जति सहज नभए पनि गाउँलेको एकता र प्रतिवद्धताले सम्भव भएको उहाँको भनाई छ । घरघरमा किसानले दुहेको दुध शोभाको घरमा संकलन गर्ने र बेच्नलाई कुश्मा बजार ल्याउन थालियो । हिउँदमा गाउँबाट बसमा दुध पठाउने र वर्खाको समय पालैपालो क्यानमा दुध बोकेर फलेवास ढिकमा ल्याउने र त्यहाँबाट गाडीमा पठाउने गरेको शोभा बताउँनुहुन्छ । ‘एउटा क्यानमा ४० लिटर दुध हुन्थ्यो’, शोभाले विगत सम्झिदै भन्नुहुन्छ–‘एक दिन एउटाले, अर्काे दिन अर्काले पालैपालो बोक्थ्यौ । आजभोली वर्खाको समयमा पनि गाउँमा जीप चल्ने भएकाले नाम्लाले बोकेर लैजानुपर्ने बाध्यता हटेको छ ।’

शोभाले कृषि व्यवासाय तथा पशुपालन फर्म दार्ता गरेर सञ्चालनमा ल्याउनुभएको छ । उहाँको फर्ममा १५ वटा होलिस्टिन र जर्सी जातका गाई छन् । व्यवसाय सुरु गर्दा ८० हजारमा किनेको एउटा गाईलाई आजभोली १ लाख ४० हजार रुपैयाँ पर्छ । शोभाले दैनिक ८० देखी १ सय लिटर दुध बेच्नुहुन्छ । ४ वटा टनेल छन् । टर्नलमा बेमौसमी काउली, बोडी, सिमी, करेला, घिरौला र गोलभेँडा फलाउदै आउनुभएको छ । शोभाले काँक्राको विउ समेत उत्पादन गर्दै आउनुभएको छ ।

महिलाहरुलाई संगठित गरेर व्यावसायिक बनाउनुपर्छ भन्ने उद्देश्यले शोभाकै पहलमा २०७२ सालमा हराभरा सामाजिक उद्यमी महिला सहकारी दर्ता गरेर सञ्चालनमा छ । ६ सय ३६ जना महिला शेयर सदस्य रहेको सहकारीको शोभा अध्यक्ष हुनुहुन्छ । सहकारीले महिलालाई बाख्रा पाल्न, गाई पाल्न र तरकारी तथा अलैची खेती गर्न प्रोत्साहन गर्दै आएको छ । महिलाहरुले उत्पादन गरेका खसी, बोका, तरकारी र दुध बेच्नको लागि गण्डकी प्रदेश सरकार, फलेवास नगरपालिका र हेफरबाट सहयोग हुँदै आएको शोभाले बताउनुभयो । ‘सहकारीको आफ्नै चिस्यान केन्द्र छ, हाम्रा उत्पादनलाई सजिलै बजार सम्म पु¥याउन गाडी किनेका छौ,’ शोभाले अहिले भने उत्साहित हुँदै भन्नुभयो, ‘अस्ती भर्खर फलेवास नगरपालिकाका मेयर द्वारा उद्घाटन गरेका छौ, अब हाम्रो आफ्नै भवन समेत बन्दैछ ।’

अघिल्लो वर्ष फलेवास नगरपालिकाबाट सबै भन्दा धेरै १ वर्षमा ४२ हजार लिटर दुध बेचेको भन्दै नगरपालिकाले प्रति लिटर १ रुपैयाँका दरले ४२ हजार रुपैया सहित शोभालाई सम्मानित गरेको थियो । बिवाइसी बागलुङले पनि वर्षभर सबैभन्दा धेरै दुध बेच्ने महिला भनेर सम्मानित गरेको थियो । दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ शोभा र उहाँको श्रीमानको इच्छा छोराछोरीलाई कृषि पढाउने थियो तर उनीहरुको रुची फरक परेपछि जर्बजस्ती नगरेको उहाँको भनाई छ ।

महिला भएर पनि दरिलो आँट, तिव्र इच्छा शक्ति र क्रान्तिकारी सोच भने शोभामा तत्कालिन नेकपा माओवादीले भरेको हो । समाजमा समानता आउँछ, महिला पुरुष बराबर हुन्छ भन्ने सुनेकी शोभाले विवाह पछि आफ्नो मनको कुरा सबै सँग खोल्न समेत डराउनु पर्ने परिस्थति बनेपछि माओवादीको साधारण सदस्य हुँदै जिल्ला कमिटी सदस्य बनेको बताउनुभयो । किसान संगठनको प्रदेश कमिटिमा रहेर काम गरेकी शोभा सँग अखिल नेपाल महिला संघ क्रान्तिकारीको कोषाध्यक्ष बनेको अनुभव छ । हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाको फलेवास नगर कमिटि सचिव र जिल्ला सचिवालय सदस्य रहेकी शोभा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट फलेवास नगरपालिकाको उपमेयरको प्रत्यासी समेत हुनुहुन्थ्यो । अग्रसर साप्ताहिकबाट

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...