काठमाडौं,१८ भदौ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो ।यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।यसैगरी राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने वा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई लैजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
गत फागुन १४ गते सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीलाई निरन्तर दवाव दिँदै आएका छन् ।दाहाल पक्षका नेताहरुले गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने अडान दोहोर्याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने खतिवडालाई नै दोहोर्याउने पक्षमा रहेको बताउँदै आउनुभएको छ ।केही दिनअघि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने च्याप्टर नै क्लोज भएको बताउनुभएको थियो ।उहाँले गौतमलाई संसदमै लैजान सक्ने विकल्पका बारेमा छलफल गरिरहनुभएको प्रधानमन्त्री निकट रहेका नेताहरुले बताएका छन् ।











































