पर्वत, १३ भदौ-कुस्मा नगरपालिका- १ पाङ गाउँको ऐतिहासिक परिचय नै ज्योतिष विद्यासँग जोडिएको छ। ‘पाङमा गएर पढेको ज्योतिषी हुँ।’ भनेपछि अहिले पनि देशका धेरै ठाउँमा ती ज्योतिषीले गर्ने भविष्यवाणीमा धेरै विश्वास गर्ने गरेका छन्।
वडा सदस्य वीरेन्द्र रिजालले यही परिवेशलाई बताउँदा एउटा कहानी सुनाए, ‘म केही वर्ष पहिले काठमाडौँ जाँदा पाङ ज्योतिष केन्द्र भनेर बोर्ड राखेको देखेँ। गएर तपाईँ पाङको मान्छे जस्तो लागेन तर यो बोर्डमा पाङ भनी हाम्रो ठाउँको नाम किन लेख्नुभयो? भनेर सोधेँ। उनले आफू झापाको मान्छे भए पनि वर्षौँ पहिले पर्वतको पाङमा पुगेर ज्योतिष सिकेको र पाङ लेखेको देखेपछि धेरैले विश्वास गर्ने उत्तर दिए।’ सुन्दर गाउँको रूपमा रहेको पाङ वर्षौँ पहिलेदेखि नै ज्योतिष विद्या पढाउन देशमा नै अब्बल रहेको पाङका पाका ज्योतिषहरू बताउँछन्। अहिले पनि इलाम, झापा, स्याङ्जा लगायतका जिल्लाका विद्यार्थीहरू ज्योतिष बन्नकै लागि पाङमा बसिरहेका छन्, उनीहरूलाई त्यहाँका ज्योतिषहरूले निःशुल्क शिक्षा दिने गरेका छन्।
पाङमा चिना, चिर्कटो, हस्तरेखा, आखत लगायत हेर्ने काम कहिलेबाट सुरु भएको हो भन्ने यकिन त छैन तर बि.सं. ११९० साल यताका प्रमाणहरू भने फेला परेको ज्येष्ठ ज्योतिष ८१ वर्षीय खगराज रिजालले बताए। उनका अनुसार दैवज्ञ नामाखर रिजालले बाँसको सिन्का र मयूरको प्वाँखले सिमी बोडीको पातबाट बनाइएको मसी प्रयोग गरेर वर्षौँ पहिले लेखेको ‘भास्वती’ बाट पनि यसको पुष्टि भएको छ। प्रमाणहरूअनुसार १२ सय वर्ष अगाडि दैवज्ञ नामाखरले लेखेको किताबमा आफूले अवन्ती देशमा पढेको भनी उल्लेख गरेका छन्। पूणर्िमा र औँसीको विषयमा दाजुभाइको झगडा हुँदा औँसीको रातमा आकाशमा चन्द्रमा जस्तै वस्तु मन्त्रबाट उत्पन्न गराएर पूणर्िमाको रात जस्तै बनाइदिएको भन्ने किंवदन्ती रहेको पाङले स्व. राजा महेन्द्रबाट बक्सिससमेत पाएको थियो।
०३२/३३ सालतिर काठमाडौँ भएको ज्योतिष सम्मेलनमा पाङका ज्योतिष गगनराज रिजालले पुरस्कार पाएका थिए। सबैभन्दा सिपालु मानिने ज्योतिष रमाकान्त रिजालको नाम त हनुमान ढोकामा पनि राखेको छ रे भन्ने सुनेको तर हेर्न भने नगएको पाङका बासिन्दा बताउँछन्। ज्योतिष पढ्नका लागि प्रख्यात मानिएको भारतको बनारसका ज्योतिषले गरेको निणर्यलाई पाङ ज्योतिषहरूले झुटो साबित गरिदिएको अर्को ज्येष्ठ नागरिक ८३ वर्षीय उमानन्द रिजालले बताए। ‘पञ्चाङ्ग पात्रोमा बनारसमा राखिएका विषयवस्तु ठिक थिएनन् रे। यहाँका ज्योतिषले दरबारमा पत्र पठाउँदै त्यो झुटा भएको बताएपछि राजाले दरबार झिकाएर त्यसको बारेमा बताउन लगाउँदा रमाकान्त गुरुले जित्नुभयो। त्यही भएर नारायणगढमा जग्गा पनि बक्सिस पाउनुभयो।’
उनले भने, ‘दरबारमा हतियार हराएको रहेछ, रमाकान्त गुरुले त्यो विषयमा पनि बताएपछि उहाँको नाम हनुमान ढोकोमा राखेको हो भन्ने सुनिन्छ। राजाले पठाएको पत्र यही गाउँमा छ तर कसको छ भन्ने यकिन छैन।’ हुम्लाबाट पाङ भित्रिएका पंगालीहरु प्रायः ज्योतिष नै बने। देशका विभिन्न ठाउँबाट आउने विद्यार्थीलाई निःशुल्क ज्योतिष बनाए।
अहिले पनि त्यसैको लागि योजना पारेर अस्थायी भवन बनाएर भए पनि पढ्न आउनेहरूलाई निःशुल्क पढाउने गरी काम थालिएको वडा सदस्य तथा यसैमा चासो राख्ने वडाध्यक्ष देवेन्द्र सुवेदीको भनाइ छ।थाहाखबरबाट











































