काठमाण्डौ, २८ साउन– देशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुरमा तीन तथा मोरङ, रुपन्देही र सप्तरीमा एक एक जना गरी ६ जनाको मंगलवार राति ज्यान गएको हो ।
मंगलवार राति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए । उनका अनुसार पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको हो ।
गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो । यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको राति ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उहाँमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो । यस्तै किस्ट अस्पतालमा ज्यान गुमाएका व्यक्तिको बारेमा भने विवरण संकलनको काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले बताए ।
यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।
ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्यान गएको छ ।
कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उनको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उनको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाका कारण एकै दिन छ जनाको मृत्यु











































