पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबामा खसेको पहिरोले पुर्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरीक्षक रूम केसीका अनुसार तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा उक्त दुर्घटना भएको हो ।
पहिरोमा परेर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका रामपुर नगरपालिका–६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी जनककी श्रीमती २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजेतिर झरेको पहिरोमा परेका जनकलाई सडकदेखि ३५ मिटर तल भिरबाट उद्धार गरिएको थियो ।
घटना भएको १५–२० मिनेटभित्रै पहिरोले पुरिएको अवस्थाबाट उद्धार गरिएका जनकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएकी कल्पनाको बुटवलमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक केसीले जानकारी दिए ।











































