#
गृह पृष्ठ मेलापत माओवादीसँग टिकट साटेर आए, देउवातिर लाग्दा राज्यमन्त्री पाए

माओवादीसँग टिकट साटेर आए, देउवातिर लाग्दा राज्यमन्त्री पाए

पोखरा – २०६४ सालयता हरेक चुनावमा उम्मेदवार रहेका खमबहादुर गर्बुजा (खम्वीर)को २०७९ को चुनावमा प्रदेश वा संघ कहाँ टिकट मिल्छ भन्ने टुंगो लागेकै थिएन । किनकि कांग्रेसबाट उनीसहित ३ जनाको नाम त केन्द्रमा सिफारिस भएको थियो । तर, तत्कालीन ५ दलीय गठबन्धनबाट संघमा माओवादीका गोविन्द पौडेलले टिकट पाउँदा प्रदेशमा कांग्रेसबाट संघमा सिफरिस नामबाटै खम्वीरसहितले टिकट पाउने चर्चामात्र थियो ।

नेपाली कांग्रेसले टिकटको टुंगो नलगाउँदै संघमा माओवादीलाई भागबण्डामा टिकट मिलेपछि म्याग्दीको चित्र भने एकाएक बदलियो । कांग्रेस र माओवादीका नेताहरुले जिल्लास्तरमै छलफल गरे र टिकट साटेर चुनाव लड्ने निर्णय नै गरे ।संघमा माओवादीबाट टिकट पाएका गोविन्दको ठाउँमा कांग्रेसका खमबहादुरलाई उठाउने र प्रदेशमा माओवादीबाट रेशमबहादुर जुग्जाली र हरि भण्डारीलाई उम्मेदवार बनाउने ।

माओवादीबाट टिकट पाएका गोविन्द पनि पछि हट्न राजी भएर टिकट साट्ने सहमत भएपछि केन्द्रमा पनि त्यहीअनुसार निर्णय गराउन सफल भए । ‘संघमा खम्वीर दाइ उठ्दा जित्ने र प्रदेशतर्फ माओवादीलाई सजिलो हुने हिसाब निकालेर नै सहमति गरेका थियौं,’ माओवादीका गण्डकी सांसद तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले भने, ‘फलस्वरुप गठबन्धनले ३ सिट नै जित्न सफल भएको हो ।’

चुनावमा टिकट साटेर जित हाँसिल गरेका गर्बुजलाई अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाएका छन् । गर्बुजा त्यस्ता पात्र हुन्, जो २०७० सालको दोस्रो संविधान सभाको चुनाव र २०७४ सालको चुनावमा पनि हार बेहोरेका थिए । २०६४ सालको चुनावमा समानुपातिक उम्मेदावरको सूचीमा नाम परेको थियो ।

२०७९ सालको चुनाव उनको लागि यस्तो संयोग बनेर आइदियो, टिकट साटेर संघमा जिते र राज्यमन्त्रीसमेत बने । २०७९ सालको चुनावबाटै म्याग्दीमा २३ वर्षपछि गर्बुजाले कांग्रेसको जित फर्काए ।

१ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । वैशाख २७ गते राष्ट्रपतिबाट ऊर्जा राज्यमन्त्री नियुक्त भए ।

खम्वीर राज्यमन्त्री बन्दा म्याग्दीमा खुसी छाएको छ । प्रदेशमा चुनाव जितेर माओवादीका जुग्जाली गण्डकीको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका थिए भने अहिले खम्वीर राज्यमन्त्रीमा नियुक्त हुँदा खुसी थपिएको कांग्रेस उपसभापति भण्डारीको भनाइ थियो ।

बेलायती सैनिकबाट २०५३ सालमा अवकास लिएर राजनीतिमा होमिएका खम्वीर म्याग्दी कांग्रेसमा अहिले दोस्रो कार्यकालका लागि सभापति छन् । त्यसअघि उनी उपसभापति थिए । नेपाली कांग्रेसको म्याग्दीमा दरिलो खम्बा बनेका बेलायती पूर्व सैनिक खम्वीरले अवकासपूर्व नै कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँछन् ।

२०५६ सालदेखि भने खम्वीर म्याग्दीको राजनीतिमा चर्चित नामका रुपमा चिनिएको थियो । २०५६ सालमा नेपाली कांग्रेसबाट नारायणसिंह पुन चुनाव उठेका थिए । भर्खरै लाहुरे जीवनबाट अवकास लिएर कांग्रेसी राजनीतिमा छिरेका खम्वीरले पुनलाई जिताउने मोर्चा सम्हालेका थिए ।

‘नारायण सिंहलाई जिताउन २०५६ मा प्रमुख भूमिका खेल्ने, राइट हेन्ड व्यक्ति नै उहाँ हो,’ नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी भन्छन्, ‘नारायणसिंहले चुनावमात्रै जितेनन्, उनी त्योबेलै राज्यमन्त्रीसमेत बने ।’

नारायणसिंह पुन पछि कांग्रेसबाट अलग भए र राजासँग नजिक भए । राजासँगै नजिक भएरै उनी पछि भौतिक पूर्वाधार मन्त्रीसमेत बने । २०५९ सालमा नारायणसिंहको नाम यति चर्चित थियो कि हरेक सञ्चारमाध्यममा उनी छाउँथे ।

माओवादी सशस्त्र संघर्ष उत्कर्षमा रहेका बेला माओवादीलाई राजा ज्ञानेन्द्रसँग वार्ता गराउने सेतु उनै नारायणसिंह थिए । ‘पुनले गरेको त्यो वार्ता सफल भएन तर आफैंले हेलिकप्टर उडाएर माओवादीका नेतालाई ल्याएर ज्ञानेन्द्रसँग वार्ता गराउने नेता पुन नै थिए,’ भण्डारीले भने, ‘पुन राजावादी बनेर भौतिक योजना मन्त्री पनि बने, आफ्नै पार्टी खोले तर खम्वीर गर्बुजा भने निरन्तर कांग्रेसकै राजनीतिमा सक्रिय भइरहे ।’

राजनीतिमा अर्को संयोग

गर्बुजाका लागि राजनीतिमा २०७९ को चुनावले अर्को संयोग पनि थपेको छ । यसअघिका चुनावमा उनी कांग्रेसभित्र संस्थापन सुशील कोइराला–रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए तर हारे । सुशीलपछि पछिल्लो चुनावमा भने उनी सभापति देउवा समूहबाट टिकट पाए र जिते पनि । देउवाको साथ लाग्दा अहिले गर्बुजाले मन्त्रीसमेत पाएका छन् ।

गर्बुजाका श्रीमती र छोराछोरी भने बेलायततिरै छन् । उनी भने नेपालमै बसेर कांग्रेसको राजनीति गर्दै अहिले मन्त्री बन्न सफल भएका छन् । ‘निरन्तर राजनीतिमा लागेपछि हारपछि जित आउँदो रहेछ । सांसद हुँदै अहिले पार्टीले जिम्मेवारी दिएको छ, केके गर्न सकिन्छ गएर पहिले हेर्छु,’ गर्बुजाले अनलाइनखबरसँग भने, ‘एउटा राज्यमन्त्रीले केके गर्न सकिने रहेछ अध्ययन गर्छु । पद र मर्यादाको कहिल्यै दुरुपयोग गर्ने छैन भन्ने कसम राजनीति सुरु गर्दा नै खाएको हुँ ।’

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...