#
गृह पृष्ठ मेलापत ‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् ।

‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् ।

म्याग्दी – सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो ।

वर्षौँदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

‘गाउँ गाउँजस्तो छैन
सहर सहरजस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’

कवि हेम हमालको कवितामा भनिएझैँ तीव्र रूपमा भइरहेको बसाइसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।

चार/पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए ।

हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइसराइका कारण एक्लिँदै जान थालेको छ । ‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजीमा सहर बजार र तराईतिर जानेक्रम भने झन् बढ्दै जान थालेका छन्,’ छन्त्यालले भने ।

ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू  पछिल्लो समय बसाइसराइका कारण उजाडिँदै जान थालेका छन् । जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइसराइ बढ्दै गएको छ । बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइसराइका कारण रित्तिँदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

आठ/दश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ । त्यसैगरी एक सय ७९  घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उहाँको भनाइ छ । गाउँमा साह्रोगाह्रो र आपत् विपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका–२ का केदार जैसीले बताए ।

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठुला सहर र जिल्ला बाहिर बसाइसराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विसं २०६८ को तुलनामा शून्य दशमलव ५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो ।

विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार तीन सय ७२ जना भएको केन्द्रीय विभागको तथ्याङ्कमा उल्लेख छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...