बागलुङ/विश्व क्षयरोग दिवश बागलुङमा मनाइएको छ । मंगलबार अन्तरक्रिया गरेर प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाको अवस्था, आगामी दिनमा गर्नुपर्ने काम र अहिले सम्मका प्रगतीबारे जानकारी गराएको थियो ।
क्षयरोग नियन्त्रणका लागि संक्रमितलाई खोजी गरेर उपचारको दायरामा ल्याउने काम भैरहेको कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । अहिले पनि जिल्लामा क्षयरोगको संक्रमण बढी रहेकोले खोजी अभियान पनि उत्तिकै चलेको उनले बताए । ‘अहिले पनि हामीले खोजी अभियान गरिरहेका छौं, प्रति एक लाख जनसंख्यामा २ सय २७ जना पत्ता लगाउनुपर्नेमा अहिलेसम्म १ सय ११ जनामात्रै पत्ता लगाउन सकेका छौं’ घिमिरेले भने, ‘सुक्ष्म अध्ययन गरेर सबैलाई उपचारको दायरामा ल्याउन सकियो भने रोग नियन्त्रणमा आउँछ ।’
बागलुङका सबै पालिकाका स्वास्थ्य संस्थामा क्षयरोगको औषधी दिने व्यवस्था गरिएको छ भने बुर्तिवाङ अस्पताल र धौलागिरि प्रादेशिक अस्पतालमा जिन एस्क्पोट मेसिन राखेर क्षयरोगको परीक्षण गरिन्छ ।
क्षयरोगले वर्षेनी सयौं मानिसको ज्यान जाने गरेको छ । अन्य रोग भएकाहरुमा क्षयरोग देखियो भने मृत्युदर बढ्छ । तसर्थ स्वास्थ्यकर्मीहरुले हरेक बिरामीलाई क्षयरोग परीक्षण गर्न लगाउने गरेका छन् । श्वासप्रश्वासबाट सर्ने क्षयरोग फोक्सो र शरीरका सबै अंगमा पनि लाग्न सक्ने जनस्वास्थ्य प्रशासक प्रविण शर्माले जानकारी दिए । यो रोगलाई पनि उनले कोरोना झै गम्भिर रुपमा लिएर उपचारको दायरामा आउन उनले आग्रह गरे । संक्रमितलाई खोजी अभियानलाई तीब्र बनाइएका पालिकामा घरघरमा पुगेर संक्रमितलाई उपचारको दायरामा समेत ल्याइएको छ । संक्रमित भेटिएका घरका बालबालिकालाई समेत तीन महिनासम्म औषधी सेवन गराइएको उनले बताए । कार्यालयले गलकोट, बडिगाड, काठेखोला र बागलुङ नगरपालिकामा भने विशेष खोजी अभियान नै संचालन गरेको हो ।
क्षयरोगको पत्ता लगाएको संख्या र उपचारको क्रमलाई छुट्टै तथ्यांकमा राखेर हेर्ने गरिएको घिमिरेले जानकारी दिए । उनका अनुसार २०८१/०८२ मा १ सय ३ जना महिला र १ सय ६१ पुरुष गरी २ सय ६४ जनामा क्षयरोग पुष्टी भएको थियो । ती मध्ये १९ जनाको मृत्यु भएको थियो । चालु वर्षको पहिलो ८ महिनामा भने यो संख्या १ सय ४४ जना छ । ८६ जना पुरुष र ५८ जना महिलामा संक्रमण भएको पाइएको हो । क्षयरोगबारे नागरिकमा सचेतना फैलाएर समयमा उपचारको दायरामा ल्याउन सके निको हुने घिमिरेले बताए ।
घिमिरेका अनुसार एचआइभी संक्रमितलाई समेत क्षयरोग संक्रमण भएमा मृत्युको संभावना बढी हुने गरेको छ भने फोक्सो वा शरीरका अन्य संवेदनशिल अंगका रोगीलाई पनि क्षयरोगबाट बचाउनुपर्ने उनले बताए । माइक्रोव्याक्टेरियम ट्युवर क्लोसिस नामक व्याक्टेरियाबाट मानिसमा क्षयरोग सर्ने गरेको पाइन्छ । यो संक्रमण नेपालका ५० प्रतिशत बढी नागरिकमा रहेको अध्ययनले देखाएको घिमिरेले जानकारी दिए ।










































