बागलुङ – पाँच वटा कोटलाई समेटेर विभिन्न पूर्वाधार विकास भएपछि बागलुङ पञ्चकोट घुमघामको गन्तव्य बनेको छ । पञ्चकोटमा आउने पर्यटकहरुले अव नयाँ पूर्वाधार देख्न पाउने भएका छन् । बागलुङ नगरपालिकाले पञ्चकोटको धुरी संसारकोटमा चीनको ग्रेटवाल शैलीमा ग्रेटवाल बनाउन शुरु गरेको हो । नगरप्रमुख जनकराज पौडेलले पर्यटक आकर्षित गर्न र बागलुङलाई देशविदेशसम्म चिनाउन ग्रेटवाल बनाउन थालिएको बताउनुभएको छ । मेयर पौडेलले ग्रेटवाल बनाउन टेण्डर आव्हान भैसकेको बताउनुभयो । यो कामका लागि ५ करोड ३५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।‘ बागलुङ जिल्लामा अहिले धेरै खाले पर्यटकीय स्थल विकास भैसकेका छन्,’ पौडेलले भन्नुभयो,‘ ग्रेटवाल अर्को महत्वपूर्ण गन्तव्य हुने विश्वासमा छौँ ।’
पोखरा र मुक्तिनाथ पुग्ने पर्यटकहरु पछिल्ला केहि वर्ष यता बागलुङ पनि आउने गरेका छन् । बन्जिजम्प, नेपालकै लामो झोलुङ्गेपुल, पञ्चकोट, बागलुङ कालिका मन्दीर, शालिग्राम संग्रहालय, भैरवस्थान मन्दीर, गाजाको दह, घुम्टे लेक बागलुङका धेरै पर्यटक आउने स्थान हुन् । संसारकोट क्षेत्रमा पर्यटक तान्न ग्रेटवाल सफल हुने पौडेलले बताउनुभयो । यो ग्रेटवाल ३ मिटर अग्लो र सय मिटर लामो बन्नेछ ।चीनको ग्रेटवालकै शैलीमा निर्माणका काम अगाडी बढेको नगरप्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,’ चीनमा नपुगेकाले चीनको ग्रेटवाल यस्तो रहेछ भनेर महसुस गर्नेछन् । पुगेकाले झन धेरै रमाएर फर्किनेछन् ।’यहाँ पुग्ने पर्यटकलाई खानेवस्ने होटलहरु समेत बन्ने भएका छन् । वाल वरपरको भागमा खुल्ला चिडियाखाना बनाउने योजना रहेको छ । वरिपरि बनजंगल भएकाले जंगली जनावरहरुको अवलोकन गर्न सकिने गरि संरचना निर्माण गर्न थालिएको हो । यहाँ रहेका पाँच कोट मध्येको सबैभन्दा उचाईमा छ संसारकोट । जुन समून्द्री सतहदेखि २८ सय मिटर माथी रहेको छ । यहाँ तारजाल कोट, कारिकोट, रायराईनी कोट, माझको र संसारकोट रहेका छन् ।
संसारकोटबाट लेकैलेक ढोरपाटनसम्म……..
बागलुङ नगरपालिकाले संसारकोटबाट लेकैलेक ढोरपाटनसम्म पुग्ने पदमार्गको पनि परिकल्पना गरेको छ । संसारकोट बाट बेलढुंगा, धम्जा, अर्गल हुँदै ढोरपाटन सम्म बिस्तार गर्ने योजना रहेको छ । पदमार्ग बनेपछि संसारकोट, पञ्चकोट, बेलढुंगा र ढोरपाटनको भ्रमण एउटै रुटमा समेटिने भएको छ ।नगरप्रमुख जनकराज पौडेलले चुनावी घोषणापत्रमा समाबेश गरेका प्रतिबद्धतालाई पुरा गर्दै जाने क्रममा संसारकोटमा ग्रेटवाल र काठेखोलामा जलविहार सम्मका कार्यक्रम आगामी वर्षको बजेटमा समेट्नुभएको छ । उहाँले आफुले देखेका सपना आफ्नो कार्यकालमा कतिपय पुरा हुने र कतिपयको शुरुवात हुने बताउनुभयो । नगरलाई समृद्ध बनाउने अभियानमा नगरवासीहरुको साथ र सहयोगको अपेक्षा रहेको पनि उहाँले बताउनुभएको छ ।










































