गृह पृष्ठ Uncategorized राज्याभिषेक

राज्याभिषेक

विश्वकै सबैभन्दा शक्तिशाली र विकसित राष्ट्र अरण्य देशमा अमरत्वको अन्वेषण गरिरहेको संसारको एक मात्र र सबभन्दा ठूलो प्रयोगशालाबाट त्यहाँ परीक्षणमा राखिएका बाँदरहरू अघिल्लो दिन राति भागेपछि अर्को दिन बिहान रेडियो, टेलिभिजन, पत्रिका र इन्टेरनेट जताकतै त्यही समाचार छायो ः
‘प्रयोगशालामा परिक्षण गर्न राखिएका बाँदरहरू बेपत्ता । प्रयोगशाला तोडेर भागेको आशंका !’
‘अमरत्व अन्वेषण गर्ने संसारको एक मात्र प्रयोगशालाले जनावरहरूमाथि आफ्नो नियन्त्रण गुमायो ।’
‘प्रयोगशालामा राखिएका जनावरहरू प्रयोगशाला तोडेर भागे ।’
यस्तै समाचारहरूले संसार तात्यो ।
अरण्य देशका राजा मानवेन्द्रले पनि टिभीमा समाचार आउनुभन्दा केही मिनेटअगाडि मात्र त्यो समाचार प्राप्त गरेको थिए । एकाबिहानै प्राप्त त्यो समाचारले उनको चैन उडायो । आफ्नो बैठक कोठामा राजषी ठाँटले सजिएका राजा बेचैनीमा यताउता गर्दै उभिएर टिभीमा समाचार हेर्दै थिए । टिभीमा कसरी त्यो घटना हुन पुग्यो र त्यसले अरण्यदेश र पुरै विश्वमा कस्तो असर पार्ला भनेर बहशहरू हुन थालेका थिए ।
कसैले बाँदरहरूलाई त्यहींकै कुनै कर्मचारीले पशु अधिकारकर्मीसँग मिलेमतो गरेर भगाएको भन्दै थिए भने कसैले बाँदरहरू आफैले नै प्रयोगशाला तोडेर भागेको निश्कर्ष निकाले । तर खासमा के भएको थियो र त्यहाँबाट भागेर गएका बाँदरहरू कहाँ गए, कस्ले लग्यो सबै कुरा रहस्यमै थियो ।
पृथ्वी र यसका हरेक चल–अचल चराचर सबैमा आफ्नो प्रभुत्व जमाएपछि मानिस आफूलाई भगवान जस्तै अमर बनाउने अमृतको खोजीमा लागेको धेरै वर्ष भैसकेको थियो । निकै गोप्य रुपमा संचालन गरिएको त्यो प्रयोगशालाको उदेश्य पनि त्यही नै थियो– मानिसलाई सधैं जवान राख्ने र मृत्युबाट जोगाउन सकिने अमृत जस्तो औषधि पत्ता लगाउने । अरण्यदेधको सरकारले गोप्य रुपमै त्यसमा अरबौं रुपैयाँ लगानी गरेको थियो भने विश्वका सबभन्दा बुद्धिमान वैज्ञानिक र चिकित्सकले त्यहाँ आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्दै थिए । त्यो योजनाका प्रमुख योजनाकार अरण्यदेशका राजा मानवेन्द्र नै थिए । अरण्यदेशको मात्र राजा भए पनि सबभन्दा ठूलो, शक्तिशाली र विकसित देशको राजा भएको हुनाले उनले आफूलाई अरण्यदेशको मात्र हैन सम्पूर्ण मानव जातिको राजा मान्थे त्यसैले उनले आफ्नो नाम पनि त्यस्तै राखेका थिए– मानवेन्द्र अर्थात् मानवका इन्द्र । प्रयोगशालाबाट अमृत निस्केपछि आफू अमर भएर संसारभरि युगौंयुग शासन गर्ने भनेर उनले राजगद्दी उत्तराधिकारीको पनि कुनै चिन्ता गरेका थिएनन् त्यसैले उनले सन्तान पनि जन्माएका थिएनन् ।
अग्लो कद, मिलेको गठिलो शरीर, सधैं दाह्री जुँगा खौरिएर चिल्लो बनाइएको पुष्ट मुहार, काला चम्किला रहस्यमय नयन, सलक्क पारेर कोरेको कपाल अनि सधैं नै औपचारिक पोशाक गाढा रङको सुट र प्यान्ट, टाइ र छालाका जुत्तामा मात्र देखिने र आवश्यकता भन्दा बढी नबोल्ने उनको व्यक्तित्वले संसार जितेको थियो । उनको अगाडि संसारका कुनै पनि देशका राष्ट्राध्यक्षले ठाडो नजरले हेर्न सक्दैनथे । उनले सोचे जस्तै अघोषित रुपमा उनी संसारका सबै देशका राजा थिए ।
उनले देश र जनताको लागि गरेका कामहरूले गर्दा जनताहरूले पनि उनलाई निकै रुचाएका थिए । जनताहरूले उनको राज्याभिषेकमा दिपावली गरेर खुशियाली मनाएका थिए । विज्ञानप्रति निकै विश्वास गर्ने राजा मानवेन्द्र विकासप्रेमी थिए । मानव जातिको भलाइको लागि आफूले गर्न सक्ने सबै काम कुनै स्वार्थ नराखी गर्थे । त्यसैको पछिल्लो उदाहरण थियो उनले स्थापना गरेको ‘अमरत्वको औषधि’ विकास गर्ने छुट्टै विभाग । उनको देश प्राकृतिक श्रोत र साधनहरूमा निकै धनी थियो । सयौं वर्ष अगाडि त्यो देशमा निकै घना जंगल थियो । मानिसहरूको बस्ती निकै कम थियो । जंगलै जंगलको देश भएको हुनाले त्यो देशको नाम नै अरण्यदेश राखिएको थियो । जंगलको प्राकृतिक श्रोत र साधनलाई सदुपयोग गरेर नै त्यो देशले आफ्नो विकास गरेको थियो । राजा मानवेन्द्र सत्तामा पुगेपछि त झन् विकासको गतिले आकाश छोएको थियो । केही वर्षमै मानिसहरूले विज्ञान र विकासको चमत्कार अरण्यदेशमा देख्न पाएका थिए ।
बाँदरहरू प्रयोगशालाबाट हराएको घटनाको समाचार संसारभरि नै डढेलो फैलिए जसरी फैलियो र सबैतिर प्रमुख समाचार बन्यो । त्यो घटना त्यसरी प्रमुख समाचार बन्नु पनि स्वभाविकै थियो । बाँदरहरू, भाग्नु भन्दा पनि त्यसबाट हुन सक्ने नकारात्मक असरको चिन्ताले वैज्ञानिकहरूलाई सताएको थियो । कुनै पनि वैज्ञानिकले एकिनका साथ भन्न सकेका थिएनन् कि यदि प्रयोगशाला तोडेर भागेका बाँदरहरूको शरीरमा परिक्षणमा प्रयोग गरिएका विभिन्न रसायनहरू कसैगरी मानव शरीरमा प्रवेश ग¥यो भने त्यसको नतिजा के हुन्छ भनेर । ती बाँदरहरू चिकत्सक र वैज्ञानिकहरू मात्र हैन सिंगै मानव जातिको लागि कुनै पनि बेला पड्कन सक्ने बम जस्ता थिए । त्यसले राजा मानवेन्द्रलाई झन् बढी चिन्तित बनाएको थियो ।
त्यो प्रयोगशाला संसारकै सबभन्दा ठूलो र उत्कृष्ट मात्र नभएर सबभन्दा सुरक्षित पनि मानिन्थ्यो । ‘अमरत्वको औषधि’ विकास गर्ने विभाग त प्रयोगशाला भित्रको सबभन्दा गोप्य र सबभन्दा सुरक्षित विभागमा गनिन्थ्यो । विगतमा त्यही प्रयोगशलाले नै आफ्नो सफल परिक्षणबाट संसारका भयानक रोगहरूको औषधि निकालेर लाखौं मानिसहरूको ज्यान जोगाएको थियो । त्यही प्रयोगशाला र त्यसमा रात दिन काम गर्ने वैज्ञानिक, प्राविधिक र चिकित्सककै कारणले गर्दा विगत केही दशकमा मान्छेको औसत आयु ५० वर्षबाट ठूलो फड्को मारेर ८० वर्ष पुगेको थियो । तर कसलाई पो थाहा थियो र भगवानको सृष्टीलाई नै चुनौती दिन सक्नै ती वैज्ञानिक, प्राविधिक र चिकित्सकहरूलाई प्रयोगशाला तोडेर भागेका केही बाँदरहरूले त्यती ठूलो चुनौती देलान् भनेर ।
वैज्ञानिक खोजी गर्ने नाममा संसारका अनगिन्ति प्रयोगशालाहरूमा हरेक वर्ष करोडौंको संख्यामा जनावरहरूमाथि विभिन्न किसिमका परिक्षणहरू गरिन्छ । ती परिक्षण गरेका अधिकांश जनावरहरू प्रायः जसो अकालमै मर्ने गर्छन् । नमर्नेहरू पनि आफ्नो पहिलेको प्राकृतिक वातावरण र प्राकृतिक रुपमा फर्कन सक्दैनन् । वैज्ञानिक प्रयोगमा सबै जातिका जनावरहरू भने प्रयोग गरिदैन । मानिसको शारीरिक वनावटसँग मिल्ने भएको कारणले गर्दा त्यस्ता वैज्ञानिक परिक्षणमा बाँदरहरूको अत्यधिक प्रयोग हुने गर्छ । प्रायः जसो मुसा, खरायो र कुकुर जस्ता जनावरहरूमा सफल परिक्षण गरिसकेपछि मान्छेमा परिक्षण गर्नुभन्दा पहिले अनेक किसिमका औषधिहरू बाँदरमा अन्तिम परिक्षण गरिन्छ । बाँदरमा पनि परिक्षण सफल भयो भने मात्र मानिसमा निकै सतर्कताका साथ परिक्षण शुरु हुन्छ ।
त्यो प्रयोगशालामा राखिएका र भागेका ती बाँदरहरू पनि तीनै विभिन्न ‘अमरत्वको औषधि’ परिक्षण गरिरहेका बाँदरहरू थिए । तर कुनैमा के परिक्षण गरिंदै थियो भने कुनैमा के । तर उदेश्य सबैको एउटै थियो– मानिसलाई वृद्ध हुनबाट रोक्ने र अमर बनाउने औषधि पत्ता लगाउने । त्यसैले ती बाँदरहरूमध्ये कुनैमा कुनै रसायन र कुनैमा कुनै रसायन, कुनैमा कम मात्रा र कुनैमा धेरै मात्रा गरेर परिक्षण हुँदै थियो । ती रसायनहरूको काम भनेको वृद्धावस्थासँगै बढ्दै जाने रोगी कोषिकाहरूलाई नष्ट गर्नु र तिनको ठाउँमा नयाँ स्वस्थ कोषिका उत्पादन गर्नु हुन्थ्यो । त्यो उदेश्य प्राप्त गर्नका लागि मानिसलाई वृद्ध बनाउन सहयोग गर्ने केही ‘जिन’हरूलाई तिनै रसायनको माध्यमबाट परिवर्तन गर्न लगाएर उनीहरूको प्रकृयामा व्यवाधान ल्याउनु पथ्र्यो ता कि उनीहरूले मान्छेलाई वृद्ध बनाउने कोषिकाहरू उत्पादन गर्न नसकुन् ।
त्यही प्रयोजन र प्रयोगको लागि दर्जनौं बाँदरहरू त्यो प्रयोगशालामा कैद गरिएका थिए । हरेक दिन उनीहरूलाई सुईको माध्यमबाट र खानाको माध्यमबाट ती रसायनहरू दिइन्थ्यो । वैज्ञानिकहरूको अनुसन्धानले राम्रो नतिजा दिइरहेको थियो । त्यही गति र त्यही दिशामा त्यो परिक्षणले सफलता हाशिल गर्दै गएमा छिट्टै नै त्यो प्रयोग सफल हुने र मानिसले अमरत्व प्राप्त गर्ने दिशामा निकै ठूलो फड्को मार्ने निश्चित थियो । बाँदरहरूलाई दिएका ती विभिन्न थरी औषधिले उनीहरूको वृद्ध हुने प्रकृया धिमा गर्नु मात्रै हैन, उनीहरूलाई वयस्क जस्तै शक्ति पनि प्रदान गथ्र्याे ता कि वयस्क जस्तो शरीरको साथै वयस्कको शक्ति पनि होओस् । तिनै औषधिको प्रभावले भागेका ती बाँदरहरू जवान मात्रै थिएनन् फुर्तिला र अन्य सामान्य बाँदरहरूको तुलनामा निकै बलिया पनि थिए ।
ती सबै बाँदरहरू परिक्षण गर्ने उदेश्यले नै प्रयोगशालामै कृतिम गर्भधारण प्रकृयाबाट जन्माइएका थिए । उनीहरूले कहिले बाहिरको प्राकृतिक वातावरणमा जीवन बिताएका थिएनन् । चिन्न सजिलो होस् भनेर ती सबै बाँदरहरूको नाम पनि मानिसको नाम जस्तै राखिएको थियो । तीमध्ये विवेक नाम गरेको बाँदर अलि ठूलो पनि थियो र अरु भन्दा निकै चलाख पनि । ठूलो भएकोले ऊ अरु भन्दा बलियो पनि हुने नै भयो । अन्य बाँदरहरू भन्दा उसले औषधिको प्रभाव पनि छिटो र निकै सकारात्मक देखाएको थियो । अरु बाँदरहरूमा नदेखिए पनि विवेकमा चाहिँ औषधिका अरु असरहरू पनि देखिएका थिए– उसले मानिसले मात्र गर्न सक्ने केही क्रियाकलाप देखाउने गरेको थियो । त्यो हुनको लागि मानिसको जस्तो सोच्न सक्ने दिमाग चाहिन्थ्यो । ती औषधिहरूले उसको दिमागमा पनि असर गरेकोले ऊ मानिसले जसरी सोच्न सक्ने भएको थियो । त्यसैले वैज्ञानिकहरूले विवेकबाट निकै राम्रो परिणामको आशा राखेका थिए र सबै निकै उत्साहित पनि थिए ।
१० वर्षको अनवरत प्रयासबाट अमरत्वको दिशामा हुन लागेको त्यो ठोस प्रगतिले सबभन्दा बढी उत्साहित त राजा मानवेन्द्र नै थिए । मानव जातिको अमरत्व अब सपना हैन विपना नै हुन थालेकोमा उनी सन्तोष थिए । तर परिक्षणको अन्तिम नतिजा र निष्कर्ष आउन केही महिना मात्रै बाँकी हुँदा घटेको घटनाले संसार नै हल्लायो र राजा मानवेन्द्रले आफ्नो गद्दी पनि हल्लिएको महशुस गरे । ती बाँदरहरू कुनै पनि चिन्ह नछोडेर भागेका हुनाले उनीहरूलाई पत्ता लगाउन निकै कठिन भएको थियो । प्रयोगशालाको त्यत्रो उच्च सुरक्षा ती जनावरहरूले कसरी तोडे भन्नेमा सबैको जिज्ञासा थियो । प्रयोगशालाको कोठादेखि पर्खालसम्म सुरक्षाका धेरै तगाराहरू पार गर्नुपथ्र्याे तर ती बाँदरहरू ती सबै तगाराहरू पार गरेर कुनै पनि चिन्ह नछोडेर भाग्न सफल भएका थिए । त्यहाँ जडान भएका सिसिटिभि क्यामरामा पनि उनीहरू भागेको कुनै भिडियो देखिएन । न त उनीहरू भाग्दा सुरक्षा प्रणालीसँग जोडिएका चेतावनीका स्वचालित घन्टीहरू नै बजे । ती बाँदरहरू अचम्मसँग भागेका थिए । त्यसको मतलब थियो या त त्यो घटनामा कुनै मानिसको सहभागिता हुनुपर्छ या त ती बाँदरहरू मानिस जस्तै बुद्धिमान भैसकेका थिए ।
त्यत्रो लगानी गरेको र संसारले नै आशाका नजरले हेरेको परियोजना राजा मानवेन्द्रले त्यत्तिकै सेलाउन दिने कुरो हुँदैनथ्यो । फेरि त्यस्तै परिक्षण गर्न अरु दश वर्ष लाग्थ्यो । त्यसैले उनको सरकारले ती भागेका बाँदरहरू किन र कसरी भागे पत्ता लगाउन र ती बाँदरहरूलाई पुनः प्रयोगशालामा ल्याएर परिक्षण जारी राख्नको लागि प्रयोगशालाका प्रमुखको नेतृत्वमा तुरुन्तै उच्चस्तरिय छानबिन टोली बनाएर भागेका बाँदरहरूलाई पुनः प्रयोगशालामा फर्काउने गरी काम गर्न थाल्यो ।
(लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ बाट)

छुटाउनुभयो कि?

१९ बर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा युवा पक्राउ

पर्वत,७  मंसिर-१९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...