#
गृह पृष्ठ मेलापत पहिले ज्यान, त्यसपछि चाडपर्व :महामारीको बेला कसरी मनाउने दसैं ?

पहिले ज्यान, त्यसपछि चाडपर्व :महामारीको बेला कसरी मनाउने दसैं ?

काठमाडौं, २५ असोज– दसैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ। यस्तो बेला कसरी मनाउने दसैं ? सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। टीका थाप्दा हुने भेटघाट र भीडभाडले संक्रमणको समस्या बढाउने सरकारको बुझाइ छ। सरकारले दसैं किनमेल नगर्न र भएकै लुगाकपडामा दसैं मनाउन पनि भनेको छ।

संस्कृतिविद् पनि यसपटकको दसैं जो जहाँ छ त्यहीँ मनाउन सुझाउँछन्। उनीहरूले टीका थाप्न परिवारलाई बाहिर नजान र आशीर्वादका लागि सामाजिक सञ्जाल प्रयोग गर्न भनेका छन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णयाक समितिका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराई दसैं साधनामुखी अनुष्ठान गर्ने पर्व भएकाले पारिवारिक जमघट गर्नै पर्छ भन्ने नरहेको बताउँछन्। भन्छन्, ‘भगवतीको साधनामुखी अनुष्ठानको प्रसादस्वरूप लगाइने टीका, दिइने आशीर्वादका लागि गरिने आवतजावत र पारिवारिक जमघटले संक्रमण फैलिने खतरा हुन्छ। यस्तो अवस्थामा लापरबाही गर्नु खतराको संकेत हो।’

दसैंअघि हाल बजारमा देखिएको भीडभाड बेहोसीपन भएको र यसले धेरैको ज्यान जान सक्ने हुँदा सबैलाई सजग रहन उनको सुझाव छ। धर्मसंस्कृतिअनुसार बनेका थुप्रै नियम वैज्ञानिक दृष्टिले पुष्टि भएकाले सोहीअनुसार काम गर्नु बुद्धिमानी हुने उनको धारणा छ।इतिहास एवं संस्कृतिविद् ज्ञानमणि नेपाल लकडाउन भएयता इन्द्रजात्रा, सेतो र रातो मच्छिन्द्रनाथ, तीज, श्राद्ध आदि सबै चाडपर्वमा रोक लगाइएकाले सरकारले भनेबमोजिम दसैंतिहार मनाउनुपर्ने बताउँछन्। ‘मेरा बुवाका ६ छोरा ३ छोरी, सबैका परिवार गरी झन्डै ७० जना भेला हुन्थ्यौं’, उनी भन्छन्, ‘मैले यसपटक नआउनू, घरघरमै बसेर मनाउनू, आशीर्वाद सामाजिक सञ्जालबाटै दिऊँला भनिसकें।’

संस्कृतिविद् डा. जगमान गुरुङ टीका थाप्न गाउँ नजानु र गाउँबाट सहर नआउनु उत्तम हुने बताउँछन्। गाउँ जान नपाउँदा आफूलाई पनि दुःख लागेको उनको भनाइ छ। भन्छन्, ‘अर्को मनले सोचें, ज्यान रहे चाडबाड मनाइरहन पाइन्छ। तर, जबरजस्ती एकपटक चाड मनाउँदा बाँकी चाडपर्व मनाउन नपाइएला। सबैलाई यो कुरो मनन गर्न आग्रह गर्छु।’सरकारले मठमन्दिर खोल्ने निर्णय नगरेको र यसअघिका चाडपर्व पनि घरमै बसेर मनाइएकाले दसैंतिहार पनि यसैगरी मनाउनु उचित हुने उनको सुझाव छ। ‘जो जहाँ छौं त्यहीँ त्यत्ति नै जनाले मनाऔं’, उनी भन्छन्, ‘यसपटक परिवारबीच विगतका घटना, सन्दर्भ, पुर्खा, नातागोता, गाउँ, खेतीपाती र जनजीवन, हालसम्मको पारिवारिक यात्रा सबैबारे खुलेर कुरा गरौं।’संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायले दसैंलाई मोहनी उपनाम दिएर मनाउँछन्। पूर्णिमापछि पनि नखट्यामा छोरीचेली बोलाएर मनाउने भएकाले यस दसैंमा ती सबै काम गर्न नहुने उनी बताउँछन्। ‘जिन्दगी छ र त चाडपर्व आउँछन् र मनाउन पाइन्छ’, उनी भन्छन्, ‘विश्वभरका देश र नागरिकले झेलेका संक्रमणका चुनौतीबाट पाठ सिकौं। घरमै बसेर सुरक्षित ढंगले दसैं मनाऔं।’

हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्याय भने महान् चाड भएकाले दसैं मनाउनुपर्नेमा जोड दिन्छन्। ‘तर, विगतजस्तो शैलीमा होइन। मास्क लगाएर अनि परिवारबीच पनि दूरी कायम गरेर टीका र आशीर्वाद थापौं’, उनी भन्छन्, ‘दसैंलाई उल्लासमय बनाऔं त्यसले यस्तो बेला प्रसन्नता र आत्मबल बढाउँछ। संक्रमणको तनाव कम गराउँछ।’

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...